२०८३, कार्तिक १२ गते बिहीबार

झिँगटीले छाउने कालीगढ पाउनै मुस्किल

झिँगटीले छाउने कालीगढ पाउनै मुस्किल


  • मेरोभ्यूज
  • पौष २५, २०८१ बिहीबार

  • झिँगटीले छाउने कालीगढ पाउनै मुस्किल

    फुङ्लिङ, ताप्लेजुङ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन् ।

    सिदिङवा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुगे । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालीगढ उनले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्थे । अहिले उनका सहकर्मी कालीगढ सबैको निधन भइसक्यो ।

    गाउँमा झिँगटीको छाना लगाउने उनी मात्र हुन । तर उनी अहिले अन्यको साहारामा बाँच्नुपरेको छ ।

    गाउँमा उनले नै बनाएको झिँगटीको घरसमेत चुइन थालेका छन् । धेरैले त भत्काएर अर्को घर बनाएका छन् ।

    सोही गाउँका मदन बरालको बुबाले २००४ साल अर्थात् ७७ वर्ष अगाडि झिँगटी छानो भएको घर निर्माण गरेको थियो । लामो समयपछि छानोबाट पानी चुइन थाल्यो । घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने हुन थाल्यो । तर मदनको बुबाले बनाएको घर भत्काउन मनले मानेन ।

    संरक्षण गर्न झिँगटीको छानोमाथि त्रिपालले छोपेर राखे । त्यो दीर्घकालीनका लागि नभएपछि बराल झिँगटीको छाना लगाउने कालीगढ खोजी कार्यमा लागे ।

    अन्तिममा कालीगढ नपाएपछि घर भत्काउनुबाहेक अन्य विकल्प उनीसँग रहेन ।

    आफ्नो पुस्ताले पसिना बगाएर बनाएको घर भत्काउन मन नभए पनि घर भत्काएर अहिले अर्कै नयाँ घर बनाइएको छ । विसं २००३ अगाडि ताप्लेजुङमा प्रायःझिँगटीको घर बनेको स्थानीयको भनाइ छ ।

    पछिल्लो समय कालीगढ अभावकै कारण झिँगटीका घर लोप हुँदै गएको छ । बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल-ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई सङ्कटमा पार्दै लगेको छ ।

    सिदिङवा गाउँपालिका–४ का दिलकुमार ताम्लिङ काठमाडौँ बसाइँ सरे । तर उनका पुर्खाले करिब ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने केशव पन्दाकले रेखदेख गर्दै आएको छ । अहिले यस गाउँमा झिँगटीको घर भनेकै उनकै घरमात्र बाँकी छ ।

    आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घर प्रशस्त देख्न पाइन्थ्यो ।

    त्यस समयका घरमा बनेका काठका बुट्टा, ढोका, झ्यालमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिने घर देख्न पाइन्थ्यो । यस्ता संरचनालाई मात्र होइन, आफ्ना पुर्खाको सम्पत्ति र गौरवको रूपमा लिने गर्दथ्यो । यो वास्तुकला शैलीको संरक्षण गरिनुपर्नेमा अधिकांश स्थानीय सहमत भए पनि बदलिँदो समयका कारण उनीहरूले झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराइ त्रिवेणी गाउँपालिका–५ लक्षुमन राईले बताए ।

    उनका अनुसार पछिल्लो समयमा गाउँमा झिँगटी छानाका ठाउँमा आरसिसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ । स्थानीयवासी घरलाई आधुनिक बनाउन र दीर्घकालीन मजबुत बनाउने उद्देश्यले परम्परागत शैलीलाई विस्थापित गरिरहेका छन् । यो परिवर्तनले परम्परागत कला लोप गराइरहेको छ, ताप्लेजुङको मौलिकतालाई पनि खतरा पुर्याइरहेको छ ।

    ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिता बोकेका घर लोप हुँदै गएका छन् । झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन ।

    कला, सीप र स्थानीय परम्परा नै लोप हुँदै गएको छ । झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए । स्थानीय बासिन्दाले पुराना झिँगटी घरको संरक्षण र संवर्द्धन आवश्यक देखेका छन् । तर संरक्षणका लागि आवश्यक जनशक्ति अभाव तथा सहयोग नपाउँदा धेरै पुराना घर विस्तारै हराउँदै गएका छन् ।


    प्रकाशित : बिहीबार , पौष २५ २०८१११:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार