२०८३, कार्तिक १२ गते बिहीबार

आयल निगमको धनगढी डिपो कैलालीको गोदावरी सार्ने

आयल निगमको धनगढी डिपो कैलालीको गोदावरी सार्ने


  • मेरोभ्यूज
  • माघ २, २०८१ बुधबार

  • आयल निगमको धनगढी डिपो कैलालीको गोदावरी सार्ने

    काठमाडौं । नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिमाञ्चम प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ ।

    डिपो सार्नका लागि गोदावरीमा वीस बिघा १६ कठ्ठा आठ धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ ।

    निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीपकुमार यादवले बुधबार आयोजित पत्रकार सम्मेलनमा डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जानकारी दिए ।

    संयोजक यादवले हाल धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित डिपो घना बस्तीबीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँघुरो भएकाले सुरक्षित स्थानमा सार्नु परेको जानकारी दिए ।

    “एक बिघा आठ कट्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले डिपो स्थान्तरण अनिवार्य भएको हो”, परियोजना प्रमुख यादवले भने ।

    विसं २०३७ मा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थान्तरण गर्नुपरेको उनले उल्लेख गरे ।

    आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न हुने र आगामी वैशाख पहिलो साता डिपो शिलान्यास गरिने निगमको योजना छ । विसं २०८४ वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ ।

    जग्गा अधिग्रहण र डिपो निर्माणका लागि रु तीन अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ ।

    काठमाडौँ विश्वविद्यालयले डिपोको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण गर्ने आयल निगमले जनाएको छ ।

    यसअघि डिपो सार्न कञ्चनपुरको पुनर्वास नगरपालिका-३ र ६ मा अवस्थित राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गा लिने तयारी गरेको थियो ।

    पुनर्वास नगरपालिकाले जग्गा प्राप्तिको सिफारिस दिन अस्वीकार गरेपछि अर्को जग्गा खोज्नु परेको हो ।

    नयाँ डिपोमा पेट्रोल एक हजार आठ सय किलोलिटर, डिजेल छ हजार छ सय किलोलिटर र मट्टितेल पाँच सय किलोलिटर भण्डारण क्षमता निर्माण गरिनेछ ।

    सो डिपोबाट सुदूरश्चिमाञ्चका नौ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउँदै आएको छ । हालको डिपोमा पेट्रोल र डिजेल सात सय ६०, सात सय ६० किलोलिटर र मट्टितेल ७० किलोलिटर भण्डारण क्षमता रहेको छ ।

    निगमको चालु आवको बजेटमा सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीतिअनुरूप कर्णाली र सुदूपश्चिम प्रदेशमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको परियोजना संयोजक यादवले जानकारी दिए ।


    प्रकाशित : बुधबार, माघ २ २०८११०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार