२०८३, कार्तिक १३ गते शुक्रबार

चिया बेचेरै छोराछोरीलाई स्नातकोत्तर पढाइन

चिया बेचेरै छोराछोरीलाई स्नातकोत्तर पढाइन


  • मेरोभ्यूज
  • माघ ४, २०८१ शुक्रबार

  • चिया बेचेरै छोराछोरीलाई स्नातकोत्तर पढाइन

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आएको छ ।

    समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ ।

    विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ ।

    विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा रु ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताए । उनले भने, “काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्छ ।”

    मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो । तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएको छ ।

    सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आएको छ । छाली र चिउरा प्रति बटुका रु एक सयमा बिक्री गर्ने गरिएको छ ।

    विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेको छ । एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेकिछिन भने अर्की छोरीले स्नातक गरिन र छोराले कक्षा १२ उत्तीर्ण गरेका छन । तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन् ।


    प्रकाशित : शुक्रबार, माघ ४ २०८११०:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार