२०८३, कार्तिक १३ गते शुक्रबार

पक्की पुल नहुँदा नागरिकलाई सास्ती

पक्की पुल नहुँदा नागरिकलाई सास्ती


  • मेरोभ्यूज
  • माघ ५, २०८१ शनिबार

  • पक्की पुल नहुँदा नागरिकलाई सास्ती

    भोजपुर । भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ ।

    उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले बर्सेनी दुःख भोग्दै आएका छन् ।

    वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले समस्या झेल्नु पर्ने स्थानीयवासीको भनाइ छ ।

    अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले बषौँबाट समस्या भोग्दै आएका छन् ।

    सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी नवीन कार्कीले बताए ।

    “अरुण नदीमा पुल नहुँदा सिङ्गो उत्तरी क्षेत्रका नागरिकलाई समस्या छ” उनले भने,“नदी वारी षडानन्द क्षेत्रमा सडक कालोपत्र बन्दैछ । तर विडम्बना अरुण नदीमा पुल नै छैन् । यो नदीमा पुल बनिदिए हाम्रो क्षेत्रको विकासमा टेवा पुग्ने थियो ।”

    बर्खा समयमा पानीको बहाव बढेपछि पूर्णरुपमा फेरी बन्द हुने भएकाले झोलुङ्गे पुलबाट नै आवत-जावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नु पर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ ।

    “सतिघाटमा पुल बन्छ भन्ने आशामा लामो समय बित्यो” उनले भने,“हालसम्म उत्तरी क्षेत्रबाट यो अरुण नदीको कुनै पनि स्थानमा पक्की पुल छैन । सवारीसाधन तार्ने सबै भन्दा ठूलो विकल्प नै यही फेरी हो । यो पनि वर्षा सुरु भएपछि बन्द हुन्छ ।”

    यहाँ २०७६ सालबाट फेरी सञ्चालनमा आएको हो । विभिन्न प्राविधिक समस्याका कारण यो पनि बेला-बेला बन्द हुने गरेको छ । त्योसँगै पानीको बहाव बढेपछि भने फेरी पूर्णरुपमा बन्द हुने स्थानीयवासीको भनाइ छ । नियमितरुपमा भने करिब ६/७ महिना मात्र फेरी सञ्चालन हुने गरेको छ ।

    हिउँदको समयमा नदी पार गराउनको लागि बिहान ७ बजेबाट बेलुका १० बजेसम्म फेरी सञ्चालन हुने गरेको छ ।

    हाल यही फेरीको सहयताबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक बाह्य जिल्ला आवत-जावत गर्दै आएका छन् ।

    फेरीले तत्कालीन समस्या समाधानमा केही राहत मिले पनि स्थायी समस्याको समाधान नरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । यहाँ पक्की पुल निर्माणको लागि पहलकदमी गरिरहेको प्रमुख उदासको भनाइ छ ।


    प्रकाशित : शनिबार, माघ ५ २०८१११:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार