२०८३, कार्तिक १३ गते शुक्रबार

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार


  • मेरोभ्यूज
  • माघ ६, २०८१ आइतबार

  • चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

    कञ्चनपुर । चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्कन्छन, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना ।

    साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवामा भन्दा कम छैन । उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेको छ ।

    “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उनले भने, “डोरी बेचेरै पेट पालिएका छन् ।”

    डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिन्छ । फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्छ ।

    भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छ । उनका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छ । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ ।

    चिसो याम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ, उनले भने, “आकारअनुसार फरक-फरक दरमा बेच्छु । दैनिक दुई/तीनवटा बिक्री हुँदा गुजारा चल्छ ।”

    सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् ।

    रामस्वरुपका दुई छोरा छन् । उनकी श्रीमती ५४ वर्षकै उमेरमा बिते । कोरोना महामारीपछि यो व्यापारमा लागेको उनले बताए । “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उनले भने, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।”


    प्रकाशित : आइतबार, माघ ६ २०८१०९:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार