२०८३, कार्तिक १४ गते शनिबार

पन्चैबाजा संरक्षणमा आमा समूह

पन्चैबाजा संरक्षणमा आमा समूह


  • मेरोभ्यूज
  • माघ ६, २०८१ आइतबार

  • पन्चैबाजा संरक्षणमा आमा समूह

    बागलुङ । परियार समुदायको पुर्ख्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् ।

    गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।

    युवा शक्ति विदेश पलायन भएपछि संकटमा पर्न थालेको पन्चैबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन् ।

    पन्चैबाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरु यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताइन ।

    विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरुले बजाउन थालेको उनको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उनले उल्लेख गरिन ।

    थापाले भनिन, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरु मिलेर पन्चैबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ ।”

    दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरुले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पन्चैबाजा समूहबाट सिकेका उनीहरुले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिकरुपमा बजाउन थालेका हुन् ।

    एउटा विवाहबाट रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेको पन्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिइन । विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूला–ठूला सहरसम्म बाजा बजाउन जाने गरेको उनको भनाइ छ ।

    “सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरुले पन्चैबाजा बजाउने गर्छौँ”, उनले भनिन, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, हामीलाई मङ्सिर र माघमा भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।”


    प्रकाशित : आइतबार, माघ ६ २०८१०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार