२०८३, कार्तिक १३ गते शुक्रबार

बाख्रापालेर वार्षिक पाँच लाख आम्दानी

बाख्रापालेर वार्षिक पाँच लाख आम्दानी


  • मेरोभ्यूज
  • माघ ७, २०८१ सोमबार

  • बाख्रापालेर वार्षिक पाँच लाख आम्दानी

    दाङ । घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएको हो ।

    घरमा आमाले घरखर्चका लागि पालेको पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा खसी छन् ।

    “राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै” भन्ने लोकगायक पशुपति शर्माको यो मेरो जीवनसँग ठ्याक्कै मिलेको छ”, खनालले भने ।

    अहिले जाडो मौसममा दिउँसोको पारिलो घाममा बाख्राले आनन्द लिने भएकोले खोर बाहिर राख्ने गरेको उनले बताए ।

    किसान खनालले बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित खोर बनाएको छ । “अहिले सोचेजति नाफा नभए पनि लगानी भने उठिरहेको छ, वार्षिक रु पाँच लाख ५० हजारसम्म आम्दानी हुन्छ । घरखर्च यसैबाट चलेको छ, बचत भने खासै भएको छैन”, उनले भने, “युवाले स्वदेशमा नै निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य हात लाग्छ ।”

    खनालले बाख्रालाई खुवाउन १२ कठ्ठामा वर्षिम, पाँच कठ्ठामा जौँ र १० कठ्ठा जमिनमा नेपियर घाँसखेती गरेको छ । उनले एकजना सहयोगी पनि राखेको छ । एक सय वटा माउ बाख्रा पाल्ने र एक वर्षमा एक सय खसी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।

    “पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाले यहाँ केही गर्नुपर्छ अर्काको देशमा बगाउने पसिना आफ्नै भूमिमा बगायो भने यही सुन फल्छ”, खनालले भने । आफ्नै जमिनमा लगानी गरी खोर तयार गरेर बाख्रापालन सुरु गरेको उनले बताए ।

    सङ्घ, प्रदेश र स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुने पनि आफूले अहिलेसम्म कुनै निकायबाट सहयोग नगरेको उनले गुनासो गरे ।

    “लगानी लगाउने वित्तिकै आम्दानी वा नाफा खोज्नु हुँदैन, धैर्य गरेमा सफल भइन्छ । निरन्तर मेहनत भने गर्नुपर्छ”, खनालले भने । हालसम्म रु १२ लाख लगानी गरेर व्यवस्थित दुई वटा खोर बनाएको बताउँदै उनले दसैँमा मात्र रु पाँच लाख ५० हजारको खसीबोका बेचेको जानकारी दिए । एउटा खसीलाई रु ६० हजारसम्ममा बिक्री गरेको उनले उल्लेख गरे ।

    अहिले खोरमा बिक्री गर्न १५ वटा खसीबोका तयार रहेका खनालले बताए । दाङसहित रोल्पा, रुकुम र प्यूठानबाट पनि ग्राहक बाख्रा खोज्न आउने उनले उल्लेख गर्दै भने, “बाख्रा खरिद गर्न व्यापारी घरमा आउँछन्, गत दसैँमा मात्रै रु पाँच लाख ५० हजारको खसीबोका बिक्री भएको थियो ।”

    यो वर्षको विस्तारै आम्दानी बढ्ने अपेक्षा रहेको बताउँदै खोर बनाउँदाको रकम चुक्ता भएपछि मुनाफामा जाने उनले उल्लेख गरे ।

    आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने भन्दै उनले स्थानीय निकायले आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । स्वदेशमै केही गर्न चाहेने किसानले उत्पादन गरेका वस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोडेर सहयोग गरेमा काम गर्न अझै हौसला मिल्ने उनको भनाइ छ ।


    प्रकाशित : सोमबार, माघ ७ २०८११०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार