सिरहा । सिरहाको लहान नगरपालिका-२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारी खेती गरिरहेका छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भइ सामूहिक तरकारी खेतीमा जोडिनुभएको छ ।
खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिकरूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताए ।
“लामो समयदेखि तरकारी खेती गर्दै आएकी छु । व्यक्तिगतरूपमा खेती गर्नुभन्दा सामूहिकरूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेका छौँ”, उनिले बताइन ।
उनि मात्रै होइन यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारी खेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले जानकारी दिए ।
उनिले भनिन, “सामूहिकरूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ ।”
अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताए । यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ ।
अघिल्लो वर्षमात्रै माछा बिक्रीबाट रु डेढ लाख आम्दानी गरिएको र छ क्विन्टल आलु उत्पादन गरी रु ७५ हजार खुद नाफा भएको नन्दीलालले बताए । आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उनले जानकारी दिए ।
यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरी रहेको छ । किसानलाई खेतीसम्बन्धी तालिम, बीउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक सङ्गीता चौधरीले बताए ।
उनले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या तथा आइपर्ने चुनौति समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताए ।
वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले तरकारी खेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

