लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका-१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ ।
उनको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन् । रमादेवी अहिले लगभग छिमेकीविहीन जस्तै छन् । उनको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ । घरधनी सहरतिर छन् । गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ ।
उनलाई गाउँ रित्तिँदै गएकोमा चिन्ता लाग्छ । किनभने त्यो गाउँसँग उनको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ । “बालखैमा बिहे गरेर आएको गाउँ हो । यहाँ पहिला कति रमाइलो हुन्थ्यो । अहिले कस्तो भयो,” उनले भने, “हराउँदै गयो गाउँको रौनक ।” बिहे भएर आएदेखिको उनको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर ।“ कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियो”, उनले गाउँको विगत स्मरण गर्दै भन्छ, “अहिले घरहरु छन्, बस्ने कोही छैनन् । सबै सहरतिर लागे । सुख र सुविधाले त्यति तान्यो ।”
छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ । अझ बढी त करेसा बारीमा फलफुल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उनलाई खल्लो लाग्छ । कुनै समय थियो । “गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फुलफूल टिपेर बिठ्याइँ गरिदिन्थे”, उनको स्मृति बग्दै गयो,“उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपर्थ्यो । अहिले चरा र बाँदरले खाएर रित्याउँछन् । मान्छे भेटिदैनन् ।”
लमजुङको राइनास नगरपालिका-१० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ । किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन् । अधिकांश शिक्षक पेशामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टरटोल पनि हो । “यहाँका अधिकांश बुबाहरु शिक्षक पेशामै आबद्ध भएका छन् भने छोराछोरी केहिले यही शिक्षण पेशा अपनाएका छन्”, रमादेवीका छोरा राममणि न्यौपानेले बताए ।
उनी गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक हुन । उनका अनुसार टोलमा ५५ घरधुरी छन् । यसमध्ये मुस्किलले २६/२७ घरमा मात्रै घरमुली बसोबास गर्छन् । अरु अधिकांश सहरतिरै त कोही विदेश पलायन छन् ।
शिक्षकहरु जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकोमा पीडा उत्तिकै छ । पाँच जनाको शिक्षक दरबन्दी घटेर अहिले दुई जनामा सिमित हुनुपरेको छ ।
कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन् । त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी पढ्छन् । “गाँउमा अभिभावक नै नभए पनि पढ्न आउने केटाकेटी कहाँ पाउनु ?”, उनले भने । अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ ।
राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएको हो । यसले टोलको विकाससहित विद्यालयको पठन-पाठनमा समेत असर गरेको छ ।
राइनास नगरपालिका-१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी, कत्रेनी, बोराङलगायत टोल छन् । टोलैपिच्छे मौरीपालन, तरकारी खेतीजस्ता उत्पादन र उद्यमशील काम भएका छन् । यद्यपि पालिकाले योजनाबद्ध ढङ्गमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय सहरमुखी हुन थालेको बताउँछन् ।
बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउछ । “छरछिमेकी हुँदा गाह्रोसारो परेको बेला सहयोगी हात हुन्थे,” उनले भने,“अहिले विरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन ।”
गाउँका युवा पुस्ताहरु रोजगारी र शिक्षा आर्जन गर्नका लागि सहर पसेका छन् । चाडपर्वमा घर सम्झेर एकाद परिवार आउँछन नभए वर्षौदेखि घरले स्याहार नपाएको स्थानीयले बताए ।
प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन । उनीहरु तीनैजनाको घरमा ताल्चा छ । रोजगार र छोराछोरी पढाउन काठमाडौँ पसेका छिमेकी उतै बसेको प्रेम बताउछ । मेरो वरिपरि त सबै घरमा ताला लागेको छ । “छिमेकी नहुँदा निकै नियास्रोको महशुस हुन्छ”, उनले भने, “गाउँका टाढाबाढा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन ।”
गाउँको छेउँमै चौतारा छ । चौतारा अचेल पहिले जस्तो भरिभराउ हुँदैन । ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपानेले अब बूढाबूढीपछि पुख्र्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउछ ।
उनको ठूलो छोरो चितवन रोजगारका सिलसिलामा उतै हुन । माइलो र कान्छो काठमाडौंमा छन् । सुविधा न भएको गाउँमा नबस्नु सहरतिरै आउनु भनेर छोराहरु जोड गरे पनि जन्मेलको थलो छोड्न मन नलाग्ने गरेको उनले सुनाए ।
“हामी चिसो छल्न गाउँ आएका । होइन भने प्रायः काठमाडौँतिर बस्छौँ”, उनले भने, “किन बस्ने गाउँमा भो अब दुख गर्नु पर्दैन भन्छन् छोराहरु ।” बिरामी परेको बेला सिटामोलसमेत पाउन मुस्कील हुने गाँउको दुःख सम्झीदा विष्णुहरिले गाँउको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताए । उनले भने जस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन ।
जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ । ६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलीविस्तार लागे । उनको पुर्खौली जिउने आधार खेती किसानी हो । सकि नसकी लगाएको बाली बाँदर, मृग, दुम्सीले जस्ता जनावरले एकैछिन सखाप पारिदिन्छन् । “अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाई”, उनले किसानले भोग्नु परेको पीडा सुनाउन्छ, “के खाएर बस्ने हो यो गाउँमा ? अनि सहर नपसे के गर्ने ?”
लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपानेका अनुसार गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गरे ।
रोजगारको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन् । यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै सहर पस्न थाले । यसले गर्दा गाउँ सुनसान हुँदै गएको उनले सुनाए ।
उनका अनुसार मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ । गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उनको बुझाइ छ ।
सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताउछ ।
धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ । परम्परागत रुपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन् । “खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ”, विमला भन्छिन, “कृषिमा आधुनिकीरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो ।”

