२०८३, कार्तिक ११ गते बुधबार

वडाध्यक्षको तरकारी खेती मोह

वडाध्यक्षको तरकारी खेती मोह


  • मेरोभ्यूज
  • माघ १८, २०८१ शुक्रबार

  • वडाध्यक्षको तरकारी खेती मोह

    कञ्चनपुर । शुक्लाफाँटा-३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्याएर बेच्छन् ।

    यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएको छ । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारी खेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनले बताए ।

    चौधरी तरकारी खेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन् । त्यहीँ भएर उनलाई दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन् ।

    बिदाका दिन वडाको काम नपरे उनी दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउछन् । उनकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने, बोक्ने कार्यमा चौधरीलाई सघाउछ ।

    वर्षमा वडाध्यक्षले रू पाँच लाखजत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । दश कठ्ठा जग्गामा उनले तरकारी खेती गरेको छ ।

    काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मूला, घ्यू-सिमी, भान्टा, आलुलगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन् ।

    “काउली मात्र बेचेर रू ५० हजार जतिको आम्दानी भएको छ”, अध्यक्ष चौधरीले भने, “पहिलो पटक लगाएको काउली बेचिसक्यौँ, दोस्रो पटक लगाएको काउली आउँदो महिना बेच्न ठीक हुन्छ ।” काउली बाहेकको अन्य तरकारी रू वीस हजार जतिको बेचेको उनले जानकारी दिए ।

    “बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन्”, अध्यक्षका श्रीमती सावित्री चौधरीले भनिन, “आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौँ ।” यसअघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सीलगायतको खेती गरी रू एक लाख आम्दानी हात पार्न सफल भएका थिए ।

    तरकारी खेतीको कमाइले परिवारको खर्चसँगै छोराको पढाइ खर्च व्यहोर्दै आएका छन् । नगरपालिकाबाट पाइने पारिश्रमिक सामाजिक कार्यमै खर्च गरेर सिद्धिने उनले बताए ।

    “आर्थिक सहयोग माग्नेलाई दिनैपर्यो”, उनले भने, “भेट्न आउने पाहुनाको सेवा सत्कार गर्नैपर्यो, सामाजिक कार्य गर्न सहयोग माग्नेलाई नाइनास्ती गर्न पाइएन, यस्तो अवस्थामा नगरबाट उपलब्ध हुने पारिश्रमिकले भ्याउन निकै गाह्रो हुन्छ ।”

    “जनप्रतिनिधि हुँ भनेर हात हल्लउँदै हिँड्नु पनि परेन, वडाध्यक्षले परिश्रम गरेको देखेर अरूले पनि गर्छन, काम गर्ने प्रवृत्ति हामीले नै बसाल्नु पर्छ, आर्थिक रूपमा वडावासी समृद्ध बने मात्र विकासले फड्को मार्ने न हो”, उनी भन्छ ।

    बिहान, साँझ र बिदाको दिनको सदुपयोग बारीको काम गरेर बिताउने चौधरी वडाको विकासका कार्यमा पनि उत्तिकै चासो राख्नुहुन्छ । गाउँका सडक स्तरोन्नति गर्ने कार्यमा श्रमदान गर्न अग्रसर भएर अगाडि सर्नुहुन्छ । परिश्रमी वडाध्यक्षका रूपमा वडावासीले उनलाई चिन्ने गर्छन् ।

    विकास निर्माण, सामाजिक कार्यमा अग्रणी रहने भएकाले दोस्रो पटक वडाध्यक्षको नेतृत्व सम्हाल्ने मौका वडावासीले दिएको बिलबहादुर चौधरी बताउँछ ।

    “वडाध्यक्ष भए पनि तरकारी खेती गर्छन्, गाउँका अरू किसानभन्दा तरकारी फलाउनमा पछाडि छैनन्”, उनले भने, “नगरपालिका र वडाबाट पनि किसानलाई पहिलो स्थानमा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्छन, किसानलाई कुन किसिमको तालिम चाहिन्छ, मागअनुसारको तालिम चलाउछन् ।”

    वडा अध्यक्षकै प्रयासमा व्यावसायिक तरकारी खेती गर्ने किसानले खेत जोत्नका लागि पावर टिलर, तरकारी खेती गर्न प्लाष्टिका हाइटेक टनेल, सिँचाइका लागि विद्युतीय मोटर तथा पम्पसेट पाएको उनले बताए ।

    उन्नत जातको बीउबिजनको प्रयोगलाई बढावा दिने कार्यसँगै खेती गर्ने तौरतरिका सिकाउनका लागि किसानलाई जानकारी गराउन प्राविधिक परिचालनको कार्य वडा अध्यक्षकै प्रयासमा हुने गरेको उनले जानकारी दिए ।

    वडा अध्यक्ष हुनुअघि नरेन्द्रले गाउँको वरघर बनेर नेतृत्व गरेको थियो । गाउँको न्याय निसाफ छिन्ने, अंशवण्डा गर्ने, संस्कृति जोगाउने, विकास निर्माणको अगुवाई गर्ने कार्य थारू समुदायमा वरघरले गर्ने गर्दछ ।


    प्रकाशित : शुक्रबार, माघ १८ २०८११०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार