२०८३, कार्तिक १२ गते बिहीबार

निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग

निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग


  • मेरोभ्यूज
  • माघ २३, २०८१ बुधबार

  • निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग

    पर्वत । निर्माणाधीन उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ ।

    सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि रु एक अर्ब ५० करोड बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको छ ।

    लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो ।

    उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भइ २०७५ साल जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा गत वर्षमात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो ।

    यसअघि उक्त खण्डका लागि रु नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ विनियोजन भएको थियो ।

    उक्त बजेटले फलेवास नगरपालिका–६ ढिकबाट कुश्मा नगरपालिका–४ अर्मादीसम्मको १४ किलोमिटर ट्र्याक खोलेको थियो । त्यसबाहेक अन्य काम भने हुनसकेको थिएन । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्षमात्र खुलाइएको भए पनि सवारीसाधन सहजरूपमा चल्न सक्ने अवस्था छैन ।

    कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमका अनुसार मन्त्रालयबाट बजेट सुनिश्चित भएसँगै अब उक्त खण्डको काम ठेक्का प्रक्रियामा जाने बताए ।

    कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसअन्तर्गत सेतीवेणीबाट फलेवाससम्मको भाग कालोपत्र भइसकेको छभने मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर खण्डको काम पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गरिरहेको छ ।

    अब बाँकी रहेको फलेवास–अर्मादी खण्ड १४ किलोमिटर सडक पूरा भएमा पर्वत खण्ड पूरै सम्पन्न हुने इन्जिनियर गौतमले बताए । यो सडकले पर्वतको उत्तर–दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफ लाइनको रूपमा हेरिँदै आइएको छ ।

    -----


    प्रकाशित : बुधबार, माघ २३ २०८११०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार