२०८३, कार्तिक १२ गते बिहीबार

कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक स्तरोन्नती गर्न चार अर्ब बजेट

कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक स्तरोन्नती गर्न चार अर्ब बजेट


  • मेरोभ्यूज
  • माघ २७, २०८१ आइतबार

  • कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक स्तरोन्नती गर्न चार अर्ब बजेट

    सुर्खेत । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडकखण्डको स्तरोन्नती गर्न अर्थ मन्त्रालयले रु चार अर्ब वीस करोड बजेट सुनिश्चित गरेको छ ।

    नलगाड नगरपालिका-१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नती गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो ।

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिए । लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अव गति लिने पूर्वमन्त्री बुढाले बताए ।

    भेरी करिडोर सडक दुई सय १७ किलोमिटर हुने जनाइएको छ । त्यसमध्ये जाजरकोट-डोल्पा सदरमुकाम दुनैसम्म एक सय १८ किलोमिटर छ । हाल जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटरखण्डमा स्तरोन्नती भइरहेको छ ।

    अब तल्लुबाट दुनैसम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु-त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नती गरिने भएको हो ।

    बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नती गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए ।

    पूर्वमन्त्री बुढाका अनुसार केही दिनमा पुल निर्माणका लागि समेत बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ । हाल बेलिब्रिज भएको स्थानमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ ।

    त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य लिएको भेरी करिडोरको दुनै-लासिक्याप खण्डको काम निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ ।

    ठेक्काको म्याद सकिन एक वर्ष बाँकी हुँदा पनि १५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

    उक्त सडकखण्ड निर्माण गर्न सूर्य-श्रेया-शान्तिदेवी जेभी काठमाडौंले रु १३ करोड ४२ लाखमा ठेक्का लिएको थियो ।

    लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ ।

    कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गत जाजरकोट सदरमुकामदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडक ट्र्याक खोल्ने काम विसं २०६५ मा सुरु गरेको थियो ।

    दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कूल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

    भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डको पुल निर्माणको ठेक्का क्याराभान हिराचन जेभीले लिए पनि काम सुरु गरेको छैन । जेभीले विसं २०७७ माघ २ गते जाजरकोटको नलगाड खोला, झुम्रे खोलामा पुल निर्माणको ठेक्का लिएको थियो ।

    त्यस्तै सोही कम्पनीले २०७७ माघ २ मै मैदे खोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको ठेक्का लिएको थियो । ठेक्का लिने तर काम नगर्नाले भेरी करिडोरमा पक्की पुल निर्माण हुनसकेका छैनन् ।


    प्रकाशित : आइतबार, माघ २७ २०८१०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार