लमजुङ । लमजुङ दोर्दी गाउँपालिका-५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेंडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङहुँदै लेपेखर्कसम्म पुग्छन् । फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान हुँदै श्रीमञ्जाङसम्म भेडाको बथानको पछि लाग्दै पुग्छन् । बितेका २४ वर्ष उनलाई २४ दिन जस्तै लाग्छ ।
भेंडाबाख्रालाई आफ्नो सन्तान जत्तिकै माया गर्ने उनलाई भेंडाका बथानको पछि लाग्दालाग्दैसमय बितेको पत्तै पाएन । भेंडाबाख्रापछि लागेको उनी आजसम्म तिनै भेंडाबाख्राको पछि-पछि लागिरहेको छ ।
गोठाला गुरुङ बाबाको मुत्यु, दाइ र ठूलोबाबाहरुले दुःख भयो भनेर गोठ छाडेपछि गुरुङ समुदायको पुर्ख्रोली पेसा धान्न, केही पैसा कमाउन र जीवन धान्ने पेसा बनाउनका लागि विसं २०५७ मा कक्षा १० को टेस्ट फेल भएपछि यही गोठ सम्हाल्दै आएको छ ।
उनले सुरुमा आफ्नोसहित २८ जनाको ८०/९० वटा भेंडाबाख्रा रहे पनि अहिले सङ्ख्या बढाउँदै दूधपोखरी गाउँपालिका-६ जोर्नेको २१ घर र सिम्रुङको गरी ४५ घरका सानाठूला गरेर आठ सयभन्दा बढी भेंडाबाख्रा रहेको सुनाए । उनलाई तीन जनाले सघाउँदै आएका छन् ।
मान्छेबाहेक चारवटा कुकुरले पनि सुरक्षा दिँदै आएको छ । यतिका भेंडाबाख्रा हुनुअघि करिब पाँच वर्षअघि सात सयवटा रहेको र एकै चोटी तीन सयवटा भेंडाबाख्रा बिक्री गरेको र चार सय सङ्ख्याबाट बढ्दै हाल सो सङ्ख्यामा पुगेको भेंडा गोठाला गुरुङले बताए ।
उनले भने, “यस भेंडागोठबाट बर्सेनी रु १५/१६ लाख बराबरको भेंडाबाख्रा बिक्री हुने गरेको छ । भेंडा एक वर्षकोलाई रु १५ हजार, दुई वर्षकोलाई रु २० हजार तथा तीन वर्षकोलाई रु ३० हजार, यसरी नै बिक्री हुने गरेको बताइएको छ ।
विशेषगरी दसैँतिहार, मङ्सिर, पुस र फागुन महिनामा भेंडाबाख्राको माग हुने गरे पनि विगतको वर्षहरुमा जस्तो अचेल बिक्री कम हुन थालेको छ । पहिला भेंडाबाख्रा जताततै थिएनन्, अहिले घरघरमै हुन थालेपछि माग घट्न थालेको भेंडीगोठाला गुरुङले दुखेसो पोखे ।
गोठका लागि प्रतिदाताहरुले कम्तीमा एक हजारदेखि माथि दिने गर्ने र अन्नपानी पनि दिने गरेको र सोही भरमा आफूहरुले गुजारा चलाउँदै आएको उनले सुनाए ।
उनले तीनजना गोठालाहरुलाई वार्षिक रु एक/एक लाख दिने गरेको र आफूले अन्य खर्च गरेर लिने र नरहे नलिने गरेको बताए । भेंडाबाख्राले अरूको अन्नबाली खाएमा क्षतिपूर्ति दिने गरेको छ ।
चरन क्षेत्र अभाव, खर्क जानेआउने बाटो समस्या, मौसम परिवर्तनले विभिन्न समस्या हुँदा भेंडीगोठ धान्न गाह्रो भएको र दुःख अनगिन्ती रहेको उनले बताए ।
आफूले पालेको भेंडाबाख्रा बिक्री गरेर वार्षिक डेढ लाख जति आम्दानी हुने गरेको छ, तर बाघभालुले नोक्सान गर्यो भने त्यही पनि नहुने उनको भनाइ छ ।
उनले यही गोठाला गरेर सो बिक्रीबाट आएको रकमले श्रीमती, दुईवटा छोरी र एक छोराको जीवन चलाउँदै आएका छन् ।
उनले भने, “कान्छी छोरीको त विवाह भयो, यतिबेला कान्छी छोरीबाहेक हाम्रो जीवन यसै पैसाबाट दुःखले चलाएको छु, सुखचैनले जीवन चलाउन पाएन । अरू पेसा पनि जानेको छैन, जे-जस्तो भए पनि यही पेसा गरिरहेको छु, यसैमा रमाउनुको विकल्प नभएको गोठाला गुरुङले जानकारी दिए ।
आफ्नो पालासम्म आफूले भेंडीगोठ धाने पनि नयाँ पुस्ताले भेंडीगोठप्रति बेवास्ता गर्दा भेंडीगोठ लोप हुन लाग्यो, चिन्ता लाग्छ, सरकारले नै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै तालिम दिएर भेंडीगोठ जोगाउनु पर्नेमा उनले जोड दिए ।
उनले भने, “चैत-वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ ।” खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ । सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ । कुनै पनि सामुदायिक वनमा अनुमतिबिना भेंडाबाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उनको भनाइ छ ।
लेक खर्कमा भेंडीगोठलाई समस्या नै समस्या भइरहेको हुन्छ । फोन लाग्दैन, फोन लाग्ने ठाउँ खोज्नुपर्छ । सामान्य दुःख बिमार हुँदा जङ्गलकै जडीबुटी खाएर बस्छौँ, तर ठूलो बिरामी भएर वा कुनै घटना घट्दा बेँसीसम्म आउन दस दिन लाग्छ उनले भने ।
यसैबीच, दोर्दी गाउँपालिका पशुपक्षी शाखाका कर्मचारी प्रवीण रेग्मीले रु १५ लाख बजेट रहेकोले सबै भेंडीगोठका भेंडाबाख्रालाई आन्तरिक परजीवीका औषधि खुवाउने औषधिमा डुबाउने मात्र गर्दै आएको बताए ।
भेंडीगोठ लोप हुन नदिन र गोठालाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि हाल पर्याप्त बजेट नभएकोले सबै समस्याको हल हुन नसके पनि आगामी वर्षहरुमा सम्बोधन गर्दै जाने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

