२०८३, कार्तिक १२ गते बिहीबार

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण


  • मेरोभ्यूज
  • माघ २९, २०८१ मंगलबार

  • कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण

    म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।

    बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख धु्रबकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिए ।

    “चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी सुरु भएपछि हुन्छ,” उनले भन्यो “मार्फाखोलामा बाढी आउँदा बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।” धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैतदेखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ ।

    पक्कि पुल सञ्चालन भएपछि कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए ।

    मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु. २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    जोमसोम देखि कागबेनी-छुसाङ-उपल्लो मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो ।

    कोरोना महामारी, प्रतिकुल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारणले ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि सुदिप खड्काले बताए ।

    पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरिको बेनी-जोमसोम कोरला सडकअन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ निर्माण सकिएको, दुई निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रियामा छ । २०७३/०७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।


    प्रकाशित : मंगलबार, माघ २९ २०८१०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार