भक्तपुर । सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।
टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घरमा भाडामा प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
नगरप्रमुख वासुदेव थापाले पहिलो र दोस्रो कार्यकालमा सबै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहयोगले नगरपालिकाले २ देखि १० सम्मका वडा कार्यालय भवन निर्माण गरेको, १ नं वडाको भवन निर्माणको चरणमा रहेको, नगरपालिकाले आफ्नै भवन निर्माण गरेको, नगर अस्पताल सञ्चालनमा ल्याएको र ठूला सडक, पुललगायत आयोजना सम्पन्न गरेको जानकारी दिए ।
नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक रु २० करोड ४१ लाख ५२ हजारमा निर्माण सम्पन्न गरेको बताए । हालसम्म नगर कार्यपालिकाले ९९ वटा कानून बनाइसकेको नगरप्रमुख थापाले बताए ।
उक्त भवन अपाङ्गतामैत्री रहेको र छ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ ।
नयाँ भवनमा करिब पाँच सय सवारीसाधन अट्ने दुई तलाको पार्किङ रहेको जानकारी दिँदै प्रमुख थापाले नवनिर्मित भवनमा दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको बताए । कार्यकक्षका लागि ९२ वटा कक्षका साथै स्तनपान कक्षसमेत रहेको जनाइएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले भवन निर्माण गर्न सङ्घीय सरकारको रु दुई करोड, जिल्ला समन्वय समितिको रु ७५ लाख र बाँकी रकम नगरपालिकाले आफ्नै स्रोतबाट खर्च गरेको बताए ।

