२०८३, कार्तिक ११ गते बुधबार

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छः अध्यक्ष दाहाल

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छः अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • फाल्गुण २, २०८१ शुक्रबार

  • कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छः अध्यक्ष दाहाल

    दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा होइन, संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताएको छ ।

    ३०औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हो ।

    ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्’ – अध्यक्ष प्रचण्डले भने – ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरु संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’

    दुई/दुई पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उनले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताए ।

    ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्’ – अध्यक्ष प्रचण्डले भने – ‘यसबाट उनीहरु संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’

    विगतमा संसद विघटन गर्दा लाखौं जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उल्लेख गर्दै उनले भने – ‘अहिले उनीहरुले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन् तर हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौं ।

    प्रतिक्रियावादीहरुको षड्यन्त्र विरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौं ।’

    हिजो संविधान बनाउनैपर्ने बाध्यताका कारण आफ्ना मुद्दाहरुलाई फरक मतको रुपमा राखेर सम्झौतामा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताए ।

    यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्ने बताए ।

    आफूले तेस्रोपटक प्रधाननमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान थालनी गर्न पाएकोमा गर्व महशुस भएको बताए ।

    ‘त्यही अभियानअन्तर्गत राजनीतिक र प्रशासनिक निकायका उच्च पदमा रहेकाहरु पनि भ्रष्टाचारको आरोपमा कारवाहीमा पर्दै गए’ –  अध्यक्ष प्रचण्डले भने – ‘भ्रष्टाचार रहँदासम्म देश अघि बढ्न सक्दैन भनेर नै यो अभियान थालिएको हो ।’

    उनले सामाजिक न्यायअन्तर्गत बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सामाजिक सुरक्षा कोष कार्यान्वयन, मिटरब्याज पीडितलाई न्याय र नागरिकताविहीनलाई नागरिक प्रदान गर्ने कानुन निर्माणलगायतका महत्वपूर्ण कामको थालनी गरिएको बताए ।

    कमजोर बन्दै गएको अर्थतन्त्रको पुनरुत्थानका लागि थालिएको प्रयासस्वरुप अहिले मुलुकको अर्थतन्त्रमा सुधार आइरहेको पनि उनले स्पष्ट पारे ।

    उनले आफू प्रधानमन्त्री हुँदा भारत र चीन भ्रमणमा गएको बेलामा विद्युत व्यापार, कृषि उत्पादन वृद्धिलगायतका विभिन्न सम्झौता गरिएको उल्लेख गर्दै उनले चीनसँगका विभिन्न परम्परागत नाका खोल्ने सहमति पनि गरिएको जानकारी दिए ।

    आफूले तीनपटक चिनियाँ राष्ट्रपतिसँग छलफल गरेपछि भूकम्पपछि रोकिएको कोदारी राजमार्ग सञ्चालनलगायतका प्रक्रियाहरु अघि बढेको पनि उनले स्पष्ट गरे ।

    आफूले राष्ट्रिय अन्तर्राष्ट्रिय पहल बिचौलिया र दलालहरुलाई मन नपरेर आफूलाई सरकारबाट हटाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा काम गर्ने र विना मेहनत करोडौं लुट्नेहरुले आफूअनुकूल सरकार बनाएको बताए ।

    ‘मलाई हटाएको कांग्रेस र एमालेका नेताहरुले भन्दा पनि दलाल, भूमाफिया र बिचौलियाहरुले हो’ – उनले भने – ‘उनीहरुले कांग्रेस र एमालेका प्रमुख नेताहरुलाई आफ्नो घरमा बोलाएर सरकार परिवर्तन गरेको जनताले स्पष्टसँग बुझिसकेका छन् ।’

    भ्रष्टहरुलाई अब यो भन्दा बढी लुट्ने छूट दिन नसकिने उल्लेख गर्दै उनले नेपाली जनताले एकताको तागत देखाउने बेला आएको बताए ।

    हिजो जनताको पक्षमा लड्दा राज्यले हिंसाको बलमा सिध्याउन खोजेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने – ‘हामी जनताको बलबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रमा आएको हो, कसैको दया मायाँले यहाँ यो व्यवस्था आएको होइन ।’

    नेपालको मिनी स्वीटजरल्याण्ड भनेर चिनिने जिरी नेपालको महत्वपूर्ण पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उनले यहाँको भाषिक र सांस्कृतिक महत्व पनि उत्तिकै मौलिक र उच्च रहेको बताए ।

    सो क्रममा अध्यक्ष प्रचण्डले विभिनन पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेको थियो ।


    प्रकाशित : शुक्रबार, फाल्गुण २ २०८१११:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार