२०८३, कार्तिक १३ गते शुक्रबार

पौवादुङमाद्वारा किसानलाई दूधमा आत्मनिर्भर बन्द उन्नत जातको गाई वितरण

पौवादुङमाद्वारा किसानलाई दूधमा आत्मनिर्भर बन्द उन्नत जातको गाई वितरण


  • मेरोभ्यूज
  • फाल्गुण ४, २०८१ आइतबार

  • पौवादुङमाद्वारा किसानलाई दूधमा आत्मनिर्भर बन्द उन्नत जातको गाई वितरण

    भोजपुर । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।

    गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

    यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ । किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उनले बताए ।

    “यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, “पहिलो चरणमा तीन वटा वडामा ७५ वटा गाई वितरण गर्ने लक्ष्य छ । महिला उद्यमीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

    मुख्यरुपमा पशुपालनको लागि उपयुक्त रहेको वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभज्याङ र वडा नं ३ च्याङ्गेका किसानलाई गाई वितरण गरिएको हो ।

    गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातका गाई वितरण गरिएको उनको भनाइ छ । विगतका वर्षहरुमा किसानलाई उन्नत जातको भैँसी वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिए ।

    “किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले उन्नत जातका गाई वितरण गरेका छौँ”, अध्यक्ष राईले भने, “यसअघि हामीले किसानलाई उन्नत जातको भैँसी दिएका थियौँ ।

    त्यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातका गाई वितरण गरेका छौँ । अहिले किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म पुग्न थालेको अवस्था छ ।”

    गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

    “हामीले किसानलाई आयआर्जनसँग जोड्ने कार्यक्रममा ध्यान दिएका छौँ”, अध्यक्ष राईले भने, “पोषनसँगै किसानलाई रोजगारमुखी बनाउने लक्ष्यका साथ अघि बढेका छौँ । बाँझोको जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्ने किसानलाई प्रोत्साहनको नीति लिएका छौँ ।”

    गाउँपालिका ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला उद्यमीलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्यका साथ गाई वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन ।

    “मुख्यरुपमा महिला उद्यमीलाई लक्षित गरेर गाई वितरण कार्यक्रमको अघि सारेका हौँ”, उपाध्यक्ष राईले भनिन, “घरको आर्थिक, व्यवहारिकसँगै पोषनको पाटोमा महिलाको ठूलो भूमिका हुन्छ । यसबाट महिलालाई उद्यमसँग जोडिन सहजता थपिएको छ ।”

    गाउँपालिकाले उन्नत जातको गाई वितरणले उत्साह थपिएको वडा नं १ श्यामशिलाकी किसान पासाङदिकी शेर्पाले बताइन । गाई वितरणले आयआर्जनमा जोडिन सहज भएको उनको भनाइ छ ।

    “मैले स्थानीय जातका गाई पाल्दै आएकी थिए”, उनले भने, “अहिले गाउँपालिकाले उन्नत जातको गाई दिएको छ । गाई वितरणले हामीलाई उत्साह थपिएको छ । उत्पादन भएको दूध यही नै बिक्री हुन्छ । यो कार्यक्रम हामी किसानको लागि निकै उपयोगि छ ।”

    किसानहरु उद्यममा जोडिएसँगै श्यामशिला क्षेत्रमा उत्पादन भएको दूध तथा दूग्ध उत्पादन सदरमुकामसँगै बाहिर जाने अवस्था बनेको वडा नं १ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए । मध्यपहाडी लोकमार्गले छोएको कारण यहाँ उत्पादन भएको दूधको बजारीकरणको लागि सहजता रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।


    प्रकाशित : आइतबार, फाल्गुण ४ २०८११०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार