२०८३, कार्तिक ११ गते बुधबार

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः अध्यक्ष प्रचण्ड

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • फाल्गुण ९, २०८१ शुक्रबार

  • नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः अध्यक्ष प्रचण्ड

    गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् ।

    गोरखाको पालुङ्टार नगरपालिका-१० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव-२०८१ को उद्घाटन गर्दै उनले यस्तो धारणा राखेको हो ।

    ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर संभावना बोकेको देश हो’– नेपाल प्राकृतिकरुपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने – ‘तर, एकथरि मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ । यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन संभव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं । यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’

    आफूले छोटो समयमै सरकारको नेतृत्व गर्दा महत्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको उल्लेख गर्दै उनले थपे – ‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरें, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिंढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ । नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत उत्पादनको सम्झौता मैले थालेका नमूना काम थिए ।’

    देशभित्र र बाहिर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रममा अहिले बैदेशिक रोजगारीमा गएका १५ लाख र देशभित्र लाखौं नेपाली श्रमिक आबद्ध भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने – ‘मैले नै गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरुले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको छु, गरे नहुने केही पनि छैन, नेपाल बनाउन संभव छ, हामीले नै बनाउने हो ।’

    यति राम्रो संभावना हुँदाहुँदै पनि नेपालका गाउँहरु विस्तारै युवाविहीन हुँदै गरेको र बाझो बढ्दै गएको डरलाग्दो तथ्यप्रति गम्भीर हुनुपर्ने बेला आएको उल्लेख गर्दै उनले आमजनताले आफ्ना छोराछोरीलाई बिदेश होइन, आफ्नै माटोमा केन्द्रित गर्ने गरी सोच्ने र राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधारहरु बढ्दै गएको बताए ।

    कृषि उत्पादन, पर्यटन विकास र आर्थिक क्रियाकलापमा वृद्धि गर्दै युवाहरुका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न आफ्नो पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि स्थानीय तहबाट समाजवाद निर्माणको ऐतिहासिक पहल अघि बढाउन थालेको जानकारी दिए ।

    ‘हामी पर्सीदेखि हाम्रो पार्टीले जितेका पालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको राष्ट्रिय भेला गरेर स्थानीय तहबाट समाजवादी अर्थतन्त्रको सुरुवातका लागि के गर्न सकिन्छ भनेर छलफल गर्दै छौं’ – उनले भने – ‘स्थानीय विशेषताअनुसारको आर्थिक विकास नै समाजवाद निर्माणको जग हुनेछ ।’

    पार्टीले लगत्तै जनतासँग माओवादी तराई मधेश जागरण अभियान र वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व-पश्चिम जागरण अभियान सुरु गर्न थालेको उल्लेख गर्दै यो देश जोड्ने अभियान हुने बताए ।

    ‘हामी यी अभियानलाई औपचारिक कार्यक्रम मात्र होइन, पार्टीले अघि बढाएको समाजवाद निर्माणको कार्यक्रमको मुख्य पृष्ठपोषणको रुपमा लैजाने छौं’– उनले भने – ‘देशभरिका संभावना र जनताको मनोविज्ञान उनीहरुले चाहेजस्तै आर्थिक विकासका कार्यक्रम जनस्तरबाटै सुरु गर्ने, आफ्नो वर्ग र समुदायमा फर्केर सुशासनका पक्षमा राष्ट्रिय एकता जागृत गर्ने अभियानको उद्देश्य हुनेछ ।’

    गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष प्रचण्डले गोरखाली जनताको विकास निर्माणको आकांक्षालाई सम्बोधन गर्नु आफ्नो प्राथमिकताको विषय हुने बताए ।

    छिमेकी देशको भ्रमणका क्रममा समेत आफूले गोरखालाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले चीनसँग गोरखामा एउटा कृषि औद्योगिक पार्क बनाउने समझदारी भएको पनि जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, फाल्गुण ९ २०८१११:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार