पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।
पोखरामा शुक्रबार आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएको हो ।
भेलामा प्रचण्डले भने, ''संविधान निर्माणको बेला नै हामीले केही 'रिजर्भेसन' राखेका छौँ । संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ । तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो । हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।" उनले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिए ।
अध्यक्ष प्रचण्डले भने, "अहिले कांग्रेस र एमालेको गठबन्धन छ । उप-निर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो । उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु - उनीहरू मिलून् । हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौँ । जनतालाई मेरो अपील छ - तपाईहरू एकतावद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।"
उनले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए । उनले भने, "हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ । बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो । अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ । यसमा दह्रोसँग उभिन्छौँ ।"
कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताए ।
अध्यक्ष दाहालले भने, ''जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ । यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ । उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ । राष्ट्रियता अन्तत:सामाजिक सम्बन्धको स्वरूप नै हो । यसलाई अलग अलगरूपमा बुझ्नु हुँदैन ।"
"नीजि सम्पत्तिको उत्पत्तिपूर्व वर्गीय विभाजन थिएन । त्यो समाजमा जातीय विभेद थिएन" गुरूङले भने , "राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन् । समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ । उत्पादनका साधनहरूमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ । यो बुझाइमा हामी स्पष्ट हुन जरूरी छ ।
महासचिव गुरूङले भने, "कम्युनिस्ट आन्दोलनको माओवादी केन्द्रले मात्र गर्न सक्छ, एमालेले गर्न सक्दैन । एमाले सामन्तवादको प्रतिनिधि हो, दलालहरूको पार्टी भइसकेको छ । एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व हामीले नै गर्नुपर्छ ।"
भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताए ।
उनले भने, ''उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेको छ । माओवादी पार्टीको संघर्षकै कारण उत्पीडित जातिहरूले अधिकार पाएका छन् । आज जनयुद्धका उपलब्धी खोस्ने कुचेष्टा भइरहेको छ। त्यसका विरूद्ध निरन्तर संघर्ष जरूरी छ । यो तथ्यलाई हामी सबैले बुझ्नुपर्छ ।''
''आज जनयुद्धका महानायक कमरेड प्रचण्डमाथि हमला भइरहेको छ'' घर्तीले भने, "अध्यक्ष प्रचण्ड, तपाई हामी आदिवासी जनजातिहरूको अभिभावक हो । आन्दोलनको नेतृत्व हो । पहिचान र अधिकारको आन्दोलनमा हामी तपाईको रक्षकवच भएर उभिनेछौँ । प्रतिगामीहरू परास्त गर्नेछौँ ।"

