२०८३, कार्तिक ११ गते बुधबार

पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी उर्जा दिने छ: अध्यक्ष प्रचण्ड

पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी उर्जा दिने छ: अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • फाल्गुण १४, २०८१ बुधबार

  • पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी उर्जा दिने छ: अध्यक्ष प्रचण्ड

    मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रुपमा उर्जा दिने बताएका छन् ।

    जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेको हो ।

    पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यवहारिक रुपमै पुष्टि भएको र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिएको बताए ।

    पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले बताएका छन् ।

    अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको प्रत्यक्ष सहभागितामा भएको जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफै सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अबस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षा सहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको जानकारी दिए ।

    अहिले एकातिर जनताले चाहे जति अधिकार पूर्ण नभएको र अर्कोतिर कांग्रेस एमालेजस्ता दलहरूले भएकै संविधान लागु गर्न नचाहिरहेको उल्लेख गर्दै उनले ती दलले संविधानमा जता हेर्दा पनि माओवादीकै एजेन्डा देख्ने गरेको बताए ।

    जनताले पाएको अधिकार सुनिश्चित गर्दै सबै जाति, भाषा र संस्कृतिको रक्षा तथा समुदायको पहिचान स्थापित गर्न अब आफ्नो पार्टीले नेतृत्व गर्ने र त्यसमा आम उत्पीडित समुदायले साथ दिनुपर्ने जानकारी दिए ।

    अब उत्पीडित समुदायले पाएको अधिकार खोस्नु इतिहासको चक्का उल्टोतिर घुम्नु सरह भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्पीडित समुदायको पक्षमा रहेको सङ्कल्प गर्न अभियान ल्याएर आएको धारणा राखेका छन् ।

    अध्यक्ष दाहालले मंगलबारको दिनमा नेपाल राष्ट्र र नेपाली जनताको अधिकारको रक्षा माओवादी बाहेक कसैले गर्न नसक्ने स्पष्ट गर्दै साथ सहयोगका लागि जनतालाई आग्रह गरेका छन् ।

    हिजो आफ्नो पार्टीलाई कसैले दया मायाले ठूलो पार्टी बनाएको नभइ नेपाली जनताको बलले स्थापित भएको उल्लेख गर्दै अब पनि जनताको एकताबद्ध प्रयासबाट आफूहरु अगाडि बढ्ने बताए । उनले आगामी चुनाबमा गठबन्धन राजनीतिको भुल नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दा उनीहरूलाई फाइदा भएको, माओवादीलाई घाटा भएको र जनताका एजेन्डा कमजोर भएकाले अब त्यस्तो भुल नदोर्याउने प्रतिबद्धता व्यक्त गरे ।


    प्रकाशित : बुधबार, फाल्गुण १४ २०८११२:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार