मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताए ।
जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा मंगलबार आयोजित जनजागरणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हो ।
पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरुमाथिको विभेद विरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने जानकारी दिए ।
दक्षिणी भेगमा बसोबास गर्ने जनताले विविधखाले समस्या व्यहोरिरहेको उल्लेख गर्दै उनले देशको सिमा रक्षकको रुपमा रहेका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।
दक्षिण क्षेत्रका जनताले डुबान र कृषि मलको समस्या व्यहोरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस क्षेत्रका आदिबासी समुदायको पहिचानको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए ।
यस्तै उत्पीडित क्षेत्रका जनसमुदायको मुक्तिका लागि महान जनयुद्ध भएको स्मरण गराउँदै उनले नयाँ संविधानमार्फत धेरै समस्यालाई नीतिगत रुपमा सम्बोधन गरिए पनि व्यवहारिक कार्यान्वयनमार्फत जनताको अवस्था बदल्दै आवश्यक परे संविधान संशोधनमार्फत उत्पीडित समुदायको अधिकार थप्दै लैजाने बताए ।
अहिले सत्तारुढ दलहरु जनताको अधिकार थप गर्नुको साटो भएको अधिकार पनि कटौती गर्ने षड्यन्त्रमा लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी षडयन्त्र विरुद्ध जनतालाई सचेत बनाउँदै आवश्यक परे संघर्षमा उत्रन समेत आह्वान गरे । उत्पीडित वर्गको पक्षमा संघर्षको माओवादीले गर्ने उल्लेख गर्दै उनले यो अभियान त्यसका लागि सचेतना अभियान पनि भएको बताए ।
हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियान सकिएपछि वैशाखदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व-पश्चिम जागरण अभियान सुरु हुने र दुबै अभियान सकिदासम्म जनताले थप अजयशक्ति प्राप्त गर्ने र त्यसले जनताको अधिकार विरुद्ध जस्तो जस्तोसुकै षडयन्त्रलाई पनि परास्त गर्ने उनले स्पष्ट पारे ।
सो क्रममा अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले, जसपालगायतका दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ठूलो सङ्ख्यामा स्थानीय नेता कार्यकर्तालाई स्वागत गरेका छन् ।

