२०८३, कार्तिक ११ गते बुधबार

मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : अध्यक्ष प्रचण्ड

मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • फाल्गुण १७, २०८१ शनिबार

  • मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : अध्यक्ष प्रचण्ड

    सिरहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभइ राष्ट्रकै समस्या भएको र यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएको छ ।

    जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हो ।

    मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको उनले स्पष्ट गरे ।

    महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए ।

    मधेसी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्नसक्ने जानकारी दिए ।

    अध्यक्ष प्रचण्डले माओवादीले जनयुद्धकै क्रममा मधेसी जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्न मधेस सरकार गठन गरिएको र पार्टीभित्र पहिलोपटक मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गराए ।

    झन्डै एक हजार तीन सय मधेसी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको पनि उनले बताए ।

    आफ्नो पार्टीले जनयुद्ध सुरु गर्दा पहिलोपटक हतियारको तालिम मदेसबाटै सुरु गरेको जानकारी दिंदै अध्यक्ष प्रचण्डले आफूले पहिलोपटक हतियारको तालिम धनुषा र सिरहाबाटै लिएको स्मरण गरे ।

    विसं २०६४ सम्म आउँदा मधेस माओवादीमय भएको तर पार्टी एकता बचाउन नसक्दा र गौरहत्याकाण्ड जस्ता विभिन्न षड्यन्त्रका कारण मधेसी जनतामा माओवादीप्रति भ्रम पर्न गएको र यही भ्रम हटाउन अहिले तराई मधेस जागरण अभियान लिएर आएको उनले स्पष्ट गरे ।

    नेपालको इतिहासमै पहिलोपटक राजनीतिक दलको तर्फबाट हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको उल्लेख गर्दै उनले देशको होचो स्थान कचनकवलबट सुरु गरिएको यो अभियानको दोस्रो संस्करण मध्यपहाडी लोकमार्गहुँदै देशको अग्लो भू-भाग रहेको सोलुखुम्बुमा गएर समापन गरिने जानकारी दिए ।

    अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए ।

    लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए ।

    आफ्नो नेतृत्वको सरकारले सुरु गरेको मिटरब्याजको समस्या समाधानको अभियान अहिले कमजोर देखिएको भए पनि यसलाई अघि बढाउन पार्टी प्रतिबद्धत रहेको उल्लेख गर्दै उनले पार्टीले अब मधेस प्रदेशमा प्रदेश स्तरको र अन्य जिल्लामा जिल्लास्तरीय संघर्ष समिति गठन गरेर संघर्ष गर्ने पार्टीले निर्णय नै गरिसकेको बताए ।

    यसअघि दोस्रो संविधानसभामा निर्वाचित गराएर प्रधानमन्त्री बन्ने असवर प्रदान गरेको धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले यसका लागि आफू सिरहाबासी जनतासँग आभारी र ऋणी रहेको बताए ।

    सिरहाबासीले दिएको जनादेश बोकेर आफूले मधेसी जनताको पहिचान र अधिकार संविधानमा समेट्न अत्यधिक प्रयत्न गरेको र थप अधिकारका लागि संविधान संशोधन प्रक्रिया अघि बढाएको तर अन्य दलले समर्थन नगर्दा सफल हुन नसकेको उनले बताए ।

    उपमहासचिव एवं मधेस-प्रदेश इन्चार्ज मातृका यादवले मधेसी जनताले सबभन्दा बढी चाहेको उल्लेख गर्दै माओवादीले मात्रै सबैखाले अत्याचारको अन्त्य गर्न सक्ने बताए ।

    मधेसी जनतालाई दु:ख पर्दा अरु दलले कहिल्यै सहयोग नगरेको उल्लेख गर्दै मधेसको दु:खसुखको साथी माओवादी मात्रै भएको जानकारी दिए ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी आन्दोलन र मधेस आन्दोलनलाई समायोजन गरेर अब माओवादीले मधेसी एजेन्डालाई सम्बोधन गर्न अघि बढ्नुपर्ने  बताए ।

    संघीयता र समानुपातिक एजेन्डाको माओवादी र मधेसवादी दलको एजेन्डा भए पनि अब मधेसवादी दलले मधेसी जनतालाई घात गरेकाले अब आफ्नो एजेन्डाको रक्षाको जिम्मा माओवादीले लिनुपर्ने बताए ।

    कार्यक्रममा माओवादी केन्द्र स्थायी समिति सदस्य विश्वनाथ साहले पनि सम्बोधन गरेको थियो भने विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

    कार्यक्रममा नेपाली कांग्रेस सिरहाका पूर्व जिल्ला सचिव रामजतन यादवसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।


    प्रकाशित : शनिबार, फाल्गुण १७ २०८११०:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार