रौतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएको छ ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेको हो ।
लामो बलिदानीपूर्ण आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै एक चरणको राजनीति क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समजावादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट क्रान्तिकारीहरु अब यसमै केन्द्रित हुनुपर्ने बताए ।
उनले रौतहट क्रान्तिकारी कम्युनिस्टहरुको किल्ला भएको उल्लेख गर्दै यहाँ भएको किसान बिद्रोहले देशभर सामन्तवाद विरुद्धको आन्दोलनलाई प्रेरणा दिएको बताएको छ ।
सो अवसरमा अध्यक्ष दाहाल ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिंदै महिलाले पाएको राजनीतिक अधिकारको रक्षा र कार्यान्वयन गर्दै हरेक क्षेत्रमा समानुपातिकरुपमा महिला सहभागिता बढाउन सङ्कल्प गर्नुपर्ने बताए ।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान शनिबार रौतहटमा रहेको छ । आजै लौकाहमा जनसभासहित विभिन्न पालिकामा जनभेटघाटका कार्यक्रम रहेको छ ।

