२०८३, कार्तिक १२ गते बिहीबार

पिप्लेबेंसीमा सक्खर उत्पादन

पिप्लेबेंसीमा सक्खर उत्पादन


  • मेरोभ्यूज
  • फाल्गुण २५, २०८१ आइतबार

  • पिप्लेबेंसीमा सक्खर उत्पादन

    खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ ।

    सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि गाउँभरि उखुखेती हुन्थ्यो । हाल पनि यहाँका दश परिवारले यो खेती गरिरहेका छन् ।

    यहाँका किसानले उखु बेच्दैनन्, त्यसलाई पेलेर सक्खर बनाएपछि मात्रै बजारमा पठाउँछन् । यहाँ विसं २०३८ मा स्थानीय किसानहरू मिलेर खरिद गरेको फलामे मेसिन छ ।

    यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन् । त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सखर बनाउँछन् । अचेल यस्तै काममा व्यस्त छन् यहाँका किसान ।

    स्थानीय कृषक बृहस्पति कार्कीले मेसिनमा पेलेर निस्किएको रस पकाउने र त्यसबाट बनेको खुदोलाई पुनः आगोको भुङ्ग्रोमा पकाएर परम्परागतरूपमा सक्खर बनाउने काम यहाँको पुर्ख्यौली पेसाको रूपमा रहेको बताए ।

    “पुर्खाका पालादेखि काठको कोलमा उखु पेल्दै आएका थियौँ, पछि २०३८ सालमा किसानहरू मिलेर फलामे मेसिन ल्यायौँ । उक्त मेसिन सबैको पायक पर्ने ठाउँमा जडान गरेर पालैपालो उखु पेल्ने गरिएको छ । आजपर्यन्त त्यसैको प्रयोग गरिरहेका छौँ”, उनले भने ।

    यस मेसिनमा किसानले बिहान र दिउँसो पालैपालो हल गोरुसहित उखु पेल्ने गरेका छन् । यसरी उत्पादित सखरको डल्ला बनाएर बिक्री गर्ने गरिएको कार्कीले जानकारी दिए । यहाँ रु आठ सयमा एक धार्नी सक्खर बिक्री हुने गरेको छ ।

    अर्का किसान कण्ठ कार्कीले यस वर्ष यहाँ करिब छ क्विन्टल सक्खर उत्पादन हुने अनुमान गरिएको बताए । यहाँ उत्पादन हुने धेरैजसो सक्खर घरबाटै बिक्री हुने गरेको उनले बताए ।

    “एक रोपनी जग्गामा लगाएको उखुबाट सक्खर बनाएर बिक्री गर्दा रु एक लाखसम्म आम्दानी हुने गरेको छ । यसरी वार्षिक रु चार लाखसम्म आम्दानी हुन्छ”, कार्कीले भने, “उत्पादित सक्खर बिक्रीका लागि बजारको कुनै समस्या छैन, बरु मागअनुसार उत्पादन गर्न सकिएको छैन । आगामी दिनमा उखुखेती विस्तार गर्ने योजनामा छौँ ।”

    सुक्खाग्रस्त क्षेत्रमा पर्ने वडा नं १ र वडा नं ११ राजापानीको भाँडबेँसीमा मात्र सक्खर उत्पादन हुँदै आएको छ । यस नगरपालिकामा उखुसँगै गहत, जुनेलो, बदाम, कपासलगायत परम्परात कृषिखेती हुँदै आएको छ ।

    एघार वडा रहेको उक्त नगरपालिकामा परम्परागतरुपमा किसानले गर्दै आएको रैथाने बाली प्रवर्द्धनका लागि नगरपालिकाले अनुदान उपलब्ध गराउँदै आएको छ । सोही नीतिअनुसार भाँडबेँसीमा उखु किसानलाई लक्षित गरी नगरपालिकाले उखु पेल्ने मेसिन उपलब्ध गराएको नगर उपप्रमुख रमेश राउतले जानकारी दिए ।

    रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग दिने गरिएको उनले बताए ।


    प्रकाशित : आइतबार, फाल्गुण २५ २०८११०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार