२०८३, कार्तिक १२ गते बिहीबार

सदरमुकाम निर्माण स्थलका रुख काटियो

सदरमुकाम निर्माण स्थलका रुख काटियो


  • मेरोभ्यूज
  • फाल्गुण २५, २०८१ आइतबार

  • सदरमुकाम निर्माण स्थलका रुख काटियो

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण स्थलका रुख काटिएका छन् ।

    जिल्लाको कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण स्थलमा पर्ने छ सय ४२ रुखमध्ये पहिलो चरणमा ४७ रुख काटिएको हो ।

    सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जनियर कुन्दन तिवारीका अनुसार पहिलो चरणमा भवन निर्माण हुने स्थलका ४७ रुख काटिएको छ ।

    विसं २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमूना सदरमुकामको शिलान्यास गरेका थिए ।

    उक्त स्थानमा रहेका रुख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन ।

    हालै मन्त्रिपरिषद्ले सदरमुकाम निर्माण स्थलका छ सय ४२ रुख कटानका लागि स्वीकृत प्रदान गरेको थियो ।

    उक्त निर्णयसँगै पहिलो चरणमा निर्माण हुन लागेको भवन रहने स्थानमा पर्ने रुख काटिएको सहायक इञ्जिनियर तिवारीले जानकारी दिए ।

    नवलपुरको नमूना सदरमुकाम निर्माण स्थलका लागि छुट्याइएको एक सय ८४ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माणको योजना रहेको छ ।

    सोअनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र थप दुई कार्यालयका लागि एकीकृत भवन निर्माण गर्नेगरी चौधरी कन्स्ट्रक्सन रौतहटसँग ठेक्का सम्झौता भएको सहायक इञ्जिनियर तिवारीले बताए । रुख हटाएसँगै केही दिनमा भवन निर्माणको काम सुरु हुने उनले बताए ।

    सदरमुकाम निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले गत आर्थिक वर्षमा विनियोजित रु ५० करोड बजेटबाट पहिलो चरणमा भवन निर्माण थालेको छ । यस वर्ष थप रु ८० करोड विनियोजन भएको छ । यसबाट अन्य भवन निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको सहायक इञ्जिनियर तिवारीले बताए ।

    नवलपुरको सदरमुकाम निर्माणका लागि यसै वर्ष थप रु चार अर्बको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएकाले क्रमशः अन्य भवन निर्माणका कामसमेत हुँदै जाने सहायक इञ्जिनियर तिवारीले जानकारी दिए ।

    शिलान्यास भएको करिब छ वर्षको अवधिमा बल्ल सदरमुकाम निर्माणको काम हुन लागेको हो ।

    नमूना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजाघरलगायत संरचना निर्माण हुनेछन् ।

    प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ । यो लागत बढ्ने आयोजनाले बताएको छ ।

    एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भू-भागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भू–भाग कङ्क्रिटविहीन राखिनेछ ।

    आयोजना निर्माण स्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।


    प्रकाशित : आइतबार, फाल्गुण २५ २०८११०:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार