२०८३, कार्तिक ११ गते बुधबार

वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म

वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म


  • मेरोभ्यूज
  • फाल्गुण २७, २०८१ मंगलबार

  • वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म

    पाल्पा । स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ ।

    पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याइ नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ ।

    तर पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि व्यवसाय गर्दै आएको छ ।

    वडाध्यक्ष पोखरेलले भने, “वडाका काममा मात्र नभइ कृषि व्यवसाय, सामाजिक कार्यलाई उत्तिकै सक्रियताका साथ गर्दैआएको छु ।” व्यस्त समयका बाबजुद पनि उनको कृषि कार्यप्रतिको लगाव र मेहनत लोभलाग्दो छ । उनले वडाको जिम्मेवारी कुशलतापूर्वक निभाउँदै कृषि कार्यमा तल्लिन हुन्छ । वडाध्यक्ष पोखरेल वडाका काम बाहेकको समय घरमा कृषि कर्म गर्नमै खटिन्छ ।

    “वडा तहबाट गर्ने काम सकिएपछि साँझ बिहानको समयमा तरकारी, अन्नबाली लगाउने, गोडमेल गर्ने, भैंसीको हेरचाह गर्नेलगायत काममा समय बिताउँछु”, उनले भने, “यसरी काम गर्दा समय बितेको पत्तो हुँदैन ।”

    रामपुर–५ मटेरीमा वडाध्यक्ष पोखरेलले कृषि कर्म गरेर आफ्नो जग्गा हरियाली बनाएको छ । करिब १५ रोपनी जग्गामा तरकारी, अन्नबाली उत्पादन गरी उनले बिक्री गर्दैआएको छ ।

    हाल साढे पाँच रोपनी जग्गामा तरकारी खेती गरिएको छ । त्यसमध्ये साढे तीन रोपनीमा काउली, बन्दा, मूला, धनियाँ, साग छन् भने दुई रोपनीमा आलु खेती गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

    काउली र बन्दागोभी बिक्री भइरहेको छ । उनले अब काँक्रो, भिण्डी, करेला, लौका, खुर्सानी, सिमीलगायत लहरेबाली जातका तरकारी लगाउने तयारीमा छन् ।

    त्यसका लागि कार्यालय समय सकिएपछि सो कर्ममा खटिने गरेको वडाध्यक्ष पोखरेलले बताए । उनले करिब एक दशकदेखि तरकारी खेती गर्न थाएको हो ।

    पहिला घरमा सिजनका तरकारी लगाउथे भने बिगत पाँच वर्षदेखि यहाँको बजार बढ्दै जान थालेपछि व्यावसायिक हिसाबले उत्पादनमा जोड दिए ।

    तरकारी, अन्नबाली, भैँसीपालनबाट वार्षिकरुपमा सरदरमा रु सातदेखि आठ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए ।

    “तरकारी खेती मात्र नभइ धान, मकै, गहुँ, तोरीजस्ता अन्नबाली लगाउने, भैँसीपालनलाई जोड दिएको छु, सबै क्षेत्रबाट आम्दानी भइरहेको छ, वडाको काम सकिएपछि घरको काममा समय खर्चेको छु, फुर्सदको समय छैन, वडाका विभिन्न काम तथा योजनामा कहिलेकाही विवाद पनि हुन्छन्, सबैलाई मिलाएर काम गरिरहेको छु, घरको आय-आर्जनका लागि कृषि पेशालाई निरन्तरता दिनुपर्यो”, वडाध्यक्ष पोखरेलले भने ।

    दैनिक बिहान ४ बजे उठेर पशुको आहार व्यवस्थापन, तरकारीको रेखदेख, सिँचाइजस्ता काम सकेर कार्यालय तथा सामाजिक काममा निस्कन्छ ।

    यसरी निरन्तररुपमा उनको दैनिकी बितिरहेको छ । कार्यालय बिदा तथा शनिबारको दिन समय मिलाएर तरकारी लगाउने, थाक्रा दिने, खेतबारी खनजोतजस्ता कार्यमा उनलाई भ्याइनभ्याइ हुन्छ ।

    वडाध्यक्ष पोखरेल भन्छ, “दैनिक कार्यतालिका बनाएर भोलिपल्ट गर्ने काम अघिल्लो दिन नै तय गरेको हुन्छु, समय अनावश्यक ठाउँमा बिताएको छैन, बिहान सबेरै उठ्ने आफ्नो घरको काम सक्ने अनि वडा तथा सामाजिक कार्यमा निस्कने गरेको छु ।”

    वडाध्यक्ष पोखरेललाई यस व्यवसायमा श्रीमती भगवतीले साथ दिँदै आएकी छिन् । वडा तथा सामाजिक कार्यमा व्यस्त रहँदा खेतीबाली, पशुको रेखदेख, संरक्षण भगवतीले सम्हाल्छिन ।

    सिँचाइका लागि निजी इनार निर्माण गरी व्यवस्थापन भइरहेको छ । स्थानीय बजारमा नै तरकारी खपत हुँदा बिक्रीका लागि झण्झट छैन । उनले कृषिबाटै दुई छोराछोरीलाई काठमाडौँमा राखेर उच्च शिक्षा दिलाएको छ ।

    आफूले कृषि कर्म गरेर दुःखसँग पढाएको छोरा सरकारी सेवामा कार्यरत भएको देख्न पाउँदा उनलाई कृषि पेशाप्रति झन् मोह बढेको छ ।

    नगरकै केन्द्र भाग, बजार क्षेत्र, सरकारी तथा सामुदायिक सङ्घ/संस्था, बैंक तथा वित्तीय कार्यालय, ठूलो जनघनत्व यही वडामै छ ।

    रामपुरका १० वटा वडामध्ये धेरै जनसङ्ख्या बसोबास गर्ने, बजार क्षेत्र रहेकाले वडाका काम सम्हाल्न अन्यत्र वडामा जस्तो सहज छैन । सानैदेखि कृषि पेशामा आबद्ध वडाध्यक्ष पोखरेलको यो कार्य उदाहरणीय बनेको छ ।


    प्रकाशित : मंगलबार, फाल्गुण २७ २०८११०:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार