२०८३, कार्तिक १२ गते बिहीबार

‘लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ’

‘लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ’


  • मेरोभ्यूज
  • फाल्गुण २७, २०८१ मंगलबार

  • ‘लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ’

    मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिइ सेमियलताका बिरुवामा लाहाखेती गर्दै आएको छ ।

    उनले जिल्लाको गौरादह–२ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदूरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी दिएको छ । उनले भने “लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।”

    लाहाबाट उत्पादन हुने चप्राको माग बढेसँगै विश्वकर्माले धनकुटा, भोजपुर र तेह्रथुमका किसानलाई लाहाखेती गर्न सिकाएर खरिद गर्दै आएको छ । वर्षमा दुई याममा उत्पादन हुने लाहा उनले वार्षिक आठ हजार किलोग्रामसम्म उत्पादन गर्दै आएको छ । उनको अनुसार कोशी प्रदेशबाट वार्षिक २०/२५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।

    झापाबाट सुरु गरेको लाहाखेतीले कोशी प्रदेशका पाँच जिल्लामा रोजगारी सृजना सुरु गरेको पूर्व डिभिजन वन अधिकृत विष्णुलाला घिमिरेले बताए ।

    कोशी प्रदेशको चतराको बगरबाट राजमार्ग उत्तरको जङ्गली भेग हुँदै मेचीसम्म लाहाखेतीका लागि उपयुक्त क्षेत्र भएको उनले बताए ।

    लाहाको बीउ उत्पादन गर्न बयरको बोट उत्तम हो । एक किलो लाहा बराबर पाँच सय ग्राम चप्रा निस्किने गरेको छ । रङ्गीन लाहा रु सात/आठ सयमा बिक्री हुँदै आएको छभने कुसुमी लाहा रु एक हजार प्रतिकेजी बिक्री हुने गरेको छ ।

    विश्वकर्मामा प्रदेशभरिका लाहा खरिद गर्ने र प्रशोधन गरी चप्रा उत्पादन गर्दै आएको छ । उक्त चप्रा पूर्वकै बजारमा अपुग रहेको विश्वकर्मा बताउछ ।

    लाहाबाट चप्रा निस्किन्छ भने चप्राबाट रेजिन, गम र पप्स तीन चिज निस्किन्छ । उक्त चप्रा सुन तथा फर्निचर पसलमा जाने गरेको छ ।

    लाहाखेतीका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका र चौबीसे गाउँपालिका उर्वरभूमि रहेको मोरङ जिल्ला वन कार्यालयका प्रमुख उत्सव थापाले बताए ।

    लाहाखेती बहुआयामिक भएकाले कोशी प्रदेश सरकारले लाहाखेती विस्तार र प्रवर्द्धन कार्यक्रम नै सुरु गरेको थापा बताउछ ।

    राम्रो आम्दानी र रोजगारी सृजना हुने भएकाले बाँझो खेत राख्नुभन्दा लाहाखेती लगाएर आम्दानी बढाउन सामुदायिक वन र किसानलाई थापाले सल्लाह दिँदै आएको बताउछ ।

    तराई भेगको तातो हावापानी भएको क्षेत्रमा हुने, शिरिष, मौवा, वडहर, कुसुम खयर, बयरजस्ता कमलो बोक्रा भएका रुखमा यसको खेती हुने गरेको छ ।

    लाहा एक प्रकारको कीरा हो । रङ्गीन र कुसुमी प्रजातिका कीराबाट लाहा उत्पादन हुने गर्छ । यो भाले र पोथी गरी दुई प्रजातिको हुन्छ । यस कीराले उत्पादन गरेको चोपबाट लाहा उत्पादन हुने गर्दछ । यो फिमेल लाहा कीराले गर्भधारण गर्ने बेलामा निस्किएको तरल पदार्थबाट उत्पादन हुने डम्बर विश्वकर्माले बताए ।

    विश्वकर्मा सात वर्ष भारतको पश्चिम बङ्गालको लाहा कारखानामा काम गरी २०७५ सालबाट गौरादहमा लाहाको खेतीसँगै चप्रा प्रशोधन गर्दै आएको छ ।

    चप्रा मागअनुरुप उत्पादन नभएको र भारतबाटै आयात गर्नुपरेको विश्वकर्माले बताए ।

    तराईका वन र बाँझो खेतमा यो खेती गरे रोजगारी र आम्दानी दुवै हुने डम्बर विश्वकर्माको भनाइ छ ।

    प्रशस्त उत्पादन हुने क्षेत्र भए पनि किसान र सामुदायिक वनलाई यस विषयमा जानकारी नभएकाले आम्दानी गर्न नसकेको विश्वकर्मा बताउछ ।

    विश्वकर्माले झापा गौराहदमा पाँच बिघा जमिन लिजमा लिएर लाहाखेतीसँगै प्रशोधन र खरिदबिक्री गर्दै आएको छ ।

    लाहाबाट प्रशोधन गरेको चप्राबाट सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन, मेकअपका समान निर्माण गर्न, औषधिमा प्रयोग गर्न र शीलबन्दीका लागि प्रयोग हुने गर्दछ ।

    नेपालमा प्रशस्तै उत्पादन हुने भए पनि राज्यबाट कुनै पहल नभएकाले व्यावसायिक हुनसकेको छैन । हाल कोशी प्रदेशमा लाहाखेतीलाई मोरङ जिल्ला वन कार्यालयले अभियानका रूपमा अगाडि बढाएको छ ।

    जिल्ला वन कार्यालय, नेपाल पत्रकार मञ्च मोरङको आयोजनामा मोरङको पथरी शनिश्चरेमा ‘लाहाखेती प्रवर्द्धनमा मिडियाको भूमिका’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रमसमेत गरिएको छ ।

    उक्त कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख थापा, पूर्व डिभिजन वन प्रमुख घिमिरे र लाहाखेती गर्दै आएका विश्वकर्माले लाहाखेतीका बारेमा सहजीकरण गरेको थियो ।

    राज्यले एउटा कार्यक्रम बनाएर यस खेतीका बारेमा प्रचार-प्रसार गर्ने र सरकारी तहबाट कार्यक्रम नै बनाएर सामुदायिक वन समितिले यस्तो खेती गरेर उत्पादन गर्न सके करोडौँको आम्दानी राज्यले लिन सक्ने थियो ।


    प्रकाशित : मंगलबार, फाल्गुण २७ २०८११०:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार