२०८३, कार्तिक १२ गते बिहीबार

पहिरो रोकथाममा ढिलाइ

पहिरो रोकथाममा ढिलाइ


  • मेरोभ्यूज
  • चैत्र ३, २०८१ आइतबार

  • पहिरो रोकथाममा ढिलाइ

    लमजुङ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ ।

    करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।

    सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो ।

    निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमे काम छाडेका छन् । यसबाट स्थानीय तथा पर्यटकलाई समस्या भएको छ ।

    डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, “पहिरो रोकथामको काम जटिल रहेको कारण देखाउँदै काम बन्द गरिएको छ ।”

    भौगोलिक बनावट कठिन हुँदा काम गर्दा माथिको डाँडा नै खस्न सक्ने अवस्था छ । यसअघि निर्माण गरिएको सडकमाथिको संरचना पनि भत्किएको छ । सडकको हालसम्म जम्मा ३२ प्रतिशत मात्र प्रगति भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

    उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्ने देखिन्छ । अझै ८० मिटर सडक ढलान गर्न बाँकी रहेको छ । सो काम सम्पन्न भएपछि पहिरो रोकथाम हुने सूचना अधिकारी विष्टको भनाइ छ ।

    पहिरो रोकथाम नहुँदा सो सडक भएर यात्रा गर्न जोखिम भएको बेँसीसहर नगरपालिका–६ का कृष्णबहादुर आलेले बताए ।

    “यात्रा गर्दा कतिबेला माथिबाट ढुङ्गामाटो तथा पहिरो खस्ने हो भन्ने डर रहन्छ । सडकबाट चिप्लए सिधैँ मर्स्याङ्दी नदीमा पुग्ने खतरा छ”, उनले भने ।

    विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उक्त ठाउँको पहिरो हुँदै पर्यटक आवत-जावत गर्छन् ।

    बेँसीसहर–६ वडाध्यक्ष प्रकाश थापाले भने, “यहाँ हिँड्दाहिँड्दै पहिरो खस्छ, जोखिम छ, धेरै गाह्रो छ । अझ बर्खायाममा बढी समस्या तथा जोखिम हुने गरेको छ ।” पहिरोभन्दा माथि २४/२५ परिवार रहेको फाँटगाउँ छ । पहिरोले बस्ती भेट्न करिब पाँच सय मिटर मात्र बाँकी छ ।

    कार्यालयका अनुसार खरखरेभिरका लागि बोलपत्र आह्वान गरेर रु २० करोड लागत अनुमान गरिएकोमा रु १६ करोड ४८ लाखमा निर्माण सम्पन्न गर्नेगरी खरीढुङ्गा गोल्मेस्वर जेभीले कामको जिम्मा लिएको थियो ।

    सम्झौताअनुसार २०८० मङ्सिरभित्र काम सम्पन्न हुनुपर्ने हो । तर काम सम्पन्न हुन नसक्दा २०८२ मङ्सिरसम्मका लागि म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

    मनाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली, तनहुँले निर्माण सुरु गरेको थियो ।

    विसं २०५७ देखि नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो । सेनाले २०६९ सालमा सडक निर्माण पूरा गरी डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

    पैसठ्ठी किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । यो सडक खरखरेभिरको पहिरोको कारण अवरुद्ध हुँदैआएको छ । सो स्थानमा करिब सात वर्षदेखि पहिरो जान थालेको हो ।


    प्रकाशित : आइतबार, चैत्र ३ २०८११०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार