२०८३, कार्तिक १२ गते बिहीबार

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी


  • मेरोभ्यूज
  • चैत्र ४, २०८१ सोमबार

  • दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

    सर्लाही । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएको छ ।

    गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेको छ ।

    सोमबार नयाँ उपकरणको उद्घाटन गरेका महतोले आगामी दिनमा उत्पादन दुई गुणाले बढ्ने अपेक्षा व्यक्त गरे ।

    हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग सुरु गरेको हो ।

    चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिएको छ ।

    हरिवन–१० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत उनी १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा थिए ।

    विदेश भासिने तयारीमा रहेको आफू वडाध्यक्ष केशवराज थापाको सहयोगमा उद्यमी बनेको उनले बताए ।

    “म कक्ष १२ (प्लस टु) सकेर विदेश जाने अन्तिम तयारीमा थिए”, उनले भने, “वडाध्यक्षसँग सहयोग माग्न जाँदा उनले यही केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ ।

    नगरले आयोजना गरेको लघु उद्यमसम्बन्धी सेमिनारमा लैजानु भएपछि । मलाई पनि उद्यमी बन्ने रहर जागेको हो । रहर त जाग्यो । तर, लगानी नहुँदा निकै दुःख पाएँ । उनले सहयोग गरेपछि आज उद्यम गरिरहेको छु ।”

    बजारमा दुनाटपरीको माग धेरै भएकाले रु तीन लाख ६० हजार पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताए ।

    यसअघि रु दुई लाख ४० हजारमा एक थान उपकरण जडान गरेको महतोले उल्लेख गरे । “त्यसबाट विभिन्न पाँच प्रकारका दैनिक पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको छ । अब दैनिक दस हजार बढी उत्पादन बजार पुर्याउने लक्ष्य छ”, उनले जानकारी दिए ।

    नयाँ उपकरण जडानपछि महिनामा तीन लाखसम्मको दुनाटपरी उत्पादन गर्न सकिने उनको दाबी छ ।

    यसबाट मजदूर, उत्पादन, बजारीकरणसमेतको खर्च कटाएर दैनिक रु दुई हजार पाँच सयदेखि रु तीन हजारसम्म मुनाफा हुने उनले जानकारी दिए ।

    रुखको पातबाट बन्ने भएकाले दुनाटपरी वातावरण मैत्री हुने हुनाले प्लास्टिकजन्य सामानभन्दा उपभोक्तालेसमेत धेरै रुचाउने गरेको उद्यमी महतोको अनुभव छ ।

    जितेन्द्रले स्थानीयस्तरमा उत्पादन भएका, वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न आग्रह गरे ।

    यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले लघु उद्यममा युवालाई जोड्न आवश्यक रहेको बताए ।

    “सुरुमा नपत्याएका बैंकहरूले अहिले ऋण लिन बोलाइरहेका छन् । सुरुमा उद्यम सुरु गर्छुभन्दा पूँजी थिएन”, उनले स्मरण गरे, “ऋण माग्दा बैंक तथा वित्तीय सङ्घ/संस्थाहरूले दिएनन् ।”

    अहिले फोन गरेर ‘ऋण लैजानुस्’ भनिरहेको महतोले जानकारी गराए । पहिलो पटक हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.बाट लिएको रु एक लाख ऋणबाट सुरु भएको उद्योग सञ्चालनमा फेरि त्यसबेलाको जस्तो सङ्कट भोग्नु नपरेको उनले सुनाए ।

    जितेन्द्रले सञ्चालन गरेको भजुँ बाबा दुनाटपरी उद्योगबाट उत्पादन भएका सामग्री जिल्लाको हरिवन, नवलपुर, बागमती, लालबन्दी, बरहथवा, बयलबास, मलङ्गवालगायत बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताको मागअनुसार सालको पत्ता, भोज पत्ता, दुनाटपरीलगायत सामान बजारमा उपलब्ध गराउने गरेको उनले बताए ।

    जितेन्द्रजस्ता लगानी नभएका, उद्यमी बन्ने योजना भएकालाई नगरपालिकाले रणनीति बनाएर प्रोत्साहन गरिरहेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले बताए ।

    स्थानीय साधनस्रोतमा जोडेर युवालाई स्वरोजगार बनाए मात्र मुलुक समृद्धिको यात्रामा जाने वडाध्यक्ष केशवराज थापाले बताए । पढाइ छोडेर रोजगारीका लागि विदेश जान सहयोग माग्ने युवालाई गाउँ घरमा उद्यम गरेर परिवारसँग बस्न प्रेरित गर्दै आइएको उनको भनाइ छ ।


    प्रकाशित : सोमबार, चैत्र ४ २०८१११:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार