२०८३, कार्तिक १२ गते बिहीबार

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु


  • मेरोभ्यूज
  • चैत्र ९, २०८१ शनिबार

  • एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएको छ ।

    उन्नत जातको आलुखेती गरी चौधरीले थोरै जग्गामा धेरै आलु फलाएको हो । पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेको छ । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग परेको छ ।

    “आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ”, चौधरीले भने, “रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ ।” रू. पाँच प्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।

    पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उनले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् ।

    यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ ।

    चौधरीले जिल्लाका शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेको छ । “घरमै राख्दा कुहिएर बिग्रिन्छ”, उनले भने, “शीतभण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।”

    तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आएको छ । सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए ।

    अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै आएको छ ।

    उनले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आएको छ । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उनले बताए ।

    आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनले बताए ।

    किसानलाई मर्का नपर्नेगरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उनको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसकेका छन् ।

    पूर्वनगर प्रमुख दिलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीतभण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउँछन् ।


    प्रकाशित : शनिबार, चैत्र ९ २०८१११:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार