२०८३, कार्तिक १२ गते बिहीबार

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती


  • मेरोभ्यूज
  • चैत्र ९, २०८१ शनिबार

  • अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

    दाङ । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ ।

    घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।

    स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्छन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे उनले गत वर्ष मात्रै रु. १८ लाख बराबरको स्ट्रबेरीको कारोबार भएको बताए ।

    “गत वर्ष रु. ११ लाख त बचत नै भयो”, उनले भने, “अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।” उनका अनुसार यस वर्ष हालसम्म रु. चार लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेका छन् ।

    साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरेको हो । उनले स्ट्रबेरी प्रतिकिलो खुद्रामा रु. सात सय र थोकमा रु. पाँच सयमा बिक्री भइरहेको बताए । उनले स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको सुनाए ।

    किसान साउदले भने, “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।”

    परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए । घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिकरुपमा स्ट्रबेरीखेती गर्दै आएका छन् ।

    स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ । उनले भने, “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा रु. सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।” उनका अनुसार कूल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको उनले बताए ।

    “स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येमा पर्छ”, उनले भने, “आज भोलिको समय राम्रो हुन्छ ।” जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको उनले बताए ।


    प्रकाशित : शनिबार, चैत्र ९ २०८१११:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार