२०८३, कार्तिक १२ गते बिहीबार

विकासले उज्यालिँदै गरेको गाउँ बसाइँ-सराइले अँध्यारो बन्दै

विकासले उज्यालिँदै गरेको गाउँ बसाइँ-सराइले अँध्यारो बन्दै


  • मेरोभ्यूज
  • चैत्र १०, २०८१ आइतबार

  • विकासले उज्यालिँदै गरेको गाउँ बसाइँ-सराइले अँध्यारो बन्दै

    गलेश्वर । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँ-सराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो ।

    वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनी बढ्दै गएको छ ।

    ‘गाउँ गाउँजस्तो छैन

    सहर सहरजस्तो छैन

    कसकसले केके गर्दिए कुन्नि

    आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’

    कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररूपमा भइरहेको बसाइँ-सराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँ गाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।

    चार/पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताए ।

    हेर्दै रहर लाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइँ-सराइका कारण एक्लिदै जान थालेको छ ।

    “गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजीमा सहर बजार र तराईतिर जानेक्रम भने झन बढ्दै जान थालेका छन्”, छन्त्यालले जानकारी दिए ।

    ठाडाखानी मात्रै होइन आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँहरू पछिल्लो समय बसाइँ-सराइका कारण उजाडिँदै जान थालेका छन् । जिल्लाका दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइँ-सराइ बढ्दै गएको छ ।

    बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँहरू समेत बसाइँ-सराइका कारण रित्तिदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

    आठ/दश वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ ।

    त्यसैगरी एक सय ७९ घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए ।

    गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उनको भनाइ छ । गाउँमा साह्रोगाह्रो र आपतविपत् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेको र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मङ्गला गाउँपालिका–२ का केदार जैसीले बताए ।

    म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवासुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँ-सराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण दस वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको पाइएको छ ।

    केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार वि.सं. २०६८ को तुलनामा शून्य दशमलव ५४ प्रतिशतले म्याग्दीको जनसङ्ख्या घटेको हो ।

    वि.सं. २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार तीन सय ७२ जना भएको केन्द्रीय विभागको तथ्याङ्कमा उल्लेख छ ।


    प्रकाशित : आइतबार, चैत्र १० २०८१११:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार