२०८३, कार्तिक १२ गते बिहीबार

बाँदर आतङ्कले बसाइँ-सराइ

बाँदर आतङ्कले बसाइँ-सराइ


  • मेरोभ्यूज
  • चैत्र १२, २०८१ मंगलबार

  • बाँदर आतङ्कले बसाइँ-सराइ

    भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसाद राई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँ-सराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् ।

    डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घर परिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताए ।

    मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँ-सराइ बढ्दा अर्चले, भोर्लेनी, दमाई छाप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खाली झै बनेको उनले बताए । सविकको वडा नं. ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उनले जानकारी दिए ।

    अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाई छापमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घर मात्र रहेको उनले बताए ।

    त्यस्तै गुराँसे, राणा गाउँमा ६५ घर रहेकोमा अहिले ३५ र मोहोरियामा ८० घर परिवारमा अहिले ३५ घर परिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले जानकारी दिए ।

    “स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहर बनेको अवस्था छ”, शिक्षक पराजुलीले भने, “मुख्य रूपमा बाँदर र पिउने पानीको समस्याका कारण मानिस अन्यत्र गइरहेका छन् । बाक्लो मानव बस्ती रहेका धेरैवटा गाउँ खण्डहर बनेका छन् ।”

    विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हारहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको उनले जानकारी दिए ।

    “गाउँघरमा सडक बिजुलीलगायत विकासको क्षेत्रमा काम भइरहेको छ”, उनले भने, “मानिस बस्ती छाडेर अन्यत्र गइरहेका छन् । तल्लो भेगका मानिसले बस्ती छाडिदिँदा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको अवस्था छ । यसरी नै बाँदरको उप्रदो बढ्ने हो भने पूरै गाउँ खाली हुने अवस्था छ । राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।”

    बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताए । खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उनले बताए ।

    अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको उनको भनाइ छ । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेको उनको भनाइ छ ।

    “म पनि यहाँ अर्काको घरमा ठेक्का बसेको छु”, उनले भने, “यहाँका सबै घर बिक्री नगरी त्यत्तिकै छाडिदिँदा भत्किएर खण्डहर बनेका छन् । मानिस बस्ती छाडेर हिँड्दा उर्वरभूमि बाँझिएको छ । यहाँका जम्मा ३५ घरमा अहिले दुई घर मात्र छौँ ।”

    सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उनको भनाइ छ । बस्ती खाली भएको कारण बाँदरले झनै दुःख दिने गरेको उनले बताए । सबैले बस्ती छाडेका कारण विद्युत् विस्तार हुने नसकेको उनको भनाइ छ । स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ ।

    राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताए । बाँदरका कारण नै धेरै किसानलाई समस्या रहेको उनले बताए ।


    प्रकाशित : मंगलबार, चैत्र १२ २०८१११:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार