मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्फ कृषक आकर्षित भएका छन् ।
सो पालिकाले आ.व. २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत रु. ३५ लाख विनियोजन गरेको छ ।
दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नबालीको खेती गर्ने चार सय २४ कृषकलाई उत्पादनका आधारमा अधिकतम रु. २७ हजार आठसय सम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिए ।
पालिकाका चारसय ५१ जना कृषकले दुई हजार पाचसय दस रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए । उक्त जग्गामा करिब दुईसय ५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ ।
समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा पाचसय नौ मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिए ।
यसैगरी, भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु. ५५ तोकेको छ ।
सो गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम सुरु गरे पनि आर्थिक वर्ष २०८१/८२ बाट कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका-२०८१ बनाएर सञ्चालन गरेको हो ।
रैथाने खेतीबाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत चालु आ.व.का लागि रु. ३५ लाख विनियोजन गरेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष हिदम लामाले यसबाट परम्परागत एवं रैथाने बालीका रुपमा परिचित कोदोखेतीको प्रवर्द्धन तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गरे ।

