२०८३, कार्तिक १२ गते बिहीबार

ठाकुरको आरन व्यवसाय सङ्कटमा

ठाकुरको आरन व्यवसाय सङ्कटमा


  • मेरोभ्यूज
  • चैत्र १२, २०८१ मंगलबार

  • ठाकुरको आरन व्यवसाय सङ्कटमा

    कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–२ मा धर्मवीर ठाकुरले सटर भाडामा लिइ लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

    उनका बुवा पनि आरनकै काम गर्थे । बुवाले धनगढीमा आरन सुरु गरेका थिए । सानैमा बुवासँगै उनले आरनको सीप सिके । उनले अहिले आरन व्यवसायमा रु. दस लाख लगानी गरेका छन् ।

    रौतहटको गौर स्थायी घर भएका ठाकुरले ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविका गर्दै आएका थिए । उनको श्रीमती, पाँच छोराछोरी र कामदार गरी जम्मा आठ जनाको परिवार छन् । ठाकुरले आरन व्यवसायबाटै परिवार पालिरहेका छन् ।

    “छोराछोरीको शिक्षादिक्षा, घरखर्च सम्पूर्ण आरनकै कमाइले धानेको छु”, उनले भने । पछिल्लो समय कृषि प्रणालीमा आधुनिकीकरण भित्रिएसँगै व्यवसाय घटेको उनले बताए ।

    हिजोआज आधुनिक कृषि औजार बजारमा आइसकेका छन् । जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ । पहिले खेत जोत्न हलोको प्रयोग गरिन्थ्यो भने हिजोआज प्राय ट्याक्टर, चम्पा ट्याक्टरद्वारा जोत्ने गरिन्छ ।

    हातले बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार आकर्षक, चिल्ला हुने भएकाले परम्परागत औजारको बिक्रीदर घटेको उनले बताए ।

    ठाकुरले पहिले मासिक रु. ७० हजारको कारोबार गरी मासिक रु. ४० हजार बचत गर्थे । तर अहिले मासिक रु. ४० हजार मात्र कारोबार हुने गरेको छ । पहिलेभन्दा आरनको व्यापार खस्कँदो अवस्थामा रहेको उनले जानकारी दिए ।

    धनगढीका धेरै आरन व्यवसायी विस्थापित भइसकेको उनले जानकारी दिए । “धनगढी बजार आसपासका क्षेत्रमा पहिले वीस जना जति आरन व्यवसायी थिए । अहिले छ जनाले मात्र यो पेसा गर्दै आएका छौँ”, उनले भने । व्यापार घटेपछि घरभाडा बुझाउन र परिवार पाल्न धौधौ परेको उनले गुनासो गरे ।


    प्रकाशित : मंगलबार, चैत्र १२ २०८१११:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार