२०८३, कार्तिक १२ गते बिहीबार

बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो


  • मेरोभ्यूज
  • चैत्र १३, २०८१ बुधबार

  • बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

    गोरखा । जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटरमा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् ।

    नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ ।

    चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकोले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उनले बताए ।

    बेनीघाट, आरुघाट, लार्के सडकको एकसय ५४ किलोमिटरमध्ये हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो । ठूला पहरा र कडा चट्टान भएकोले विस्फोटनको काम गर्न सडक विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो ।

    चीनको सीमा लार्के भन्ज्याङसम्मको एकसय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो ।

    सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ ।

    सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा ९७ किमिखण्डमा सवारीसाधन चल्न थालेका छन् । बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलीब्रिज निर्माण गरेको सेनानी ढकालले जानकारी दिए ।

    उनका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट रु. सात करोड विनियोजन भएको छ । विनियोजित बजेटअन्तर्गत गर्नुपर्ने काम लगभग सकिएको उनले बताए ।

    “दुई किलोमिटर ट्रयाक खन्ने काम अन्तिम चरणमा छ, यही चैतभित्र सकिन्छ”, सेनानी ढकालले भने, “यो वर्ष ट्रयाक खन्न रु. सात करोड आएको थियो । त्यो बजेटले गर्नुपर्ने काम लगभग गरिसक्यौँ ।”

    यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिर गरी चार खण्डमा ब्लाष्टिङ गरी ट्रयाक खोल्ने काम गरेको उनले बताए ।

    बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो ।

    आर्थिक वर्ष २०६३/६४ मा बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक नामकरण गरिएको थियो । आ.व. २०६६/६७ मा मात्र उक्त सडक निर्माण सुरु भएको थियो । तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर रहेकोले पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन ।

    कठिन मानिएको ९२ किमिखण्डको काम गर्न सडक विभागले २०७४ वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको हो । वि.सं. २०७३ मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि नेपाली सेनाले २०७४ वैशाखदेखि काम सुरु गरेको थियो ।

    उक्त सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हुँदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ । उक्त सडकलाई उत्तरी गोरखाको लाइफ-लाइनका रूपमा हेरिएको छ ।


    प्रकाशित : बुधबार, चैत्र १३ २०८१११:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार