२०८३, कार्तिक १२ गते बिहीबार

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड पुन:निर्माण गरिँदै

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड पुन:निर्माण गरिँदै


  • मेरोभ्यूज
  • चैत्र १५, २०८१ शुक्रबार

  • बिपी राजमार्गको क्षतिग्रस्त खण्ड पुन:निर्माण गरिँदै

    काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुन:निर्माण गरिने भएको छ ।

    दुई सडकखण्ड पुन:निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।

    बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुन:निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडकखण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ ।

    क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ ।

    जसका लागि रु. ७२ करोडमा ठेक्का आह्वान गरिएको हो । यसमा सहभागी हुने कम्पनीले रु. एक करोड ८२ लाख ५० हजार सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।

    काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुन:निर्माणका लागि पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको आठ किलोमिटर सडक (डालाबेंसीदेखि-चारसयाबेंसीसम्म) पुन:निर्माणका लागि रु. दुई अर्ब ५० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले रु. छ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ ।

    गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुन:निर्माण गर्न रु. आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ ।

    सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार दुई वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ ।

    ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ ।

    पुन:निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताए । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो ।

    उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायीरूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ । तीन साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ ।

    डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ ।

    बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पुर्याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिइ मर्मतकार्य भइरहेको जनाइएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ ।

    सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरि दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो ।

    क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलालाई गहिर्याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ ।

    कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो ।

    राजमार्गको धुलिखेल-नेपालथोक र नेपालथोक-खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले रु. २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

    बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायीरूपमा पुन:निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले जानकारी दिए ।

    हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।


    प्रकाशित : शुक्रबार, चैत्र १५ २०८१११:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार