२०८३, कार्तिक १२ गते बिहीबार

चन्द्रवीरले खनेको त्यो बाटो...

चन्द्रवीरले खनेको त्यो बाटो...


  • मेरोभ्यूज
  • चैत्र १९, २०८१ मंगलबार

  • चन्द्रवीरले खनेको त्यो बाटो...

    दाङ । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवत-जावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका-३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खनेको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।

    वि.सं. २०७३ मा वलीले दुई वर्ष लगाएर खनेको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ ।

    चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेको हो । “श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन”, उनले भने, “श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।”

    उनका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्छ, अन्य तीन छोराले आँखा देख्दैनन् ।

    अहिले उनका जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा काम गर्छन्, भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन् । कान्छो छोरा काठमाडौँमै छन्, उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् ।

    चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन् । त्यही सहयोगबाट उनको दैनिकी चलेको छ । “कहिले मास्टर आउछन्, कहिले इञ्जिनियर आउछन्”, उनले भने, “यसरी नै आउने सबैले चामल, दाल ल्याइदिन्छन्, हाम्रो जीवन यसरी चलेको छ ।”


    प्रकाशित : मंगलबार, चैत्र १९ २०८१०८:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार