२०८३, कार्तिक १२ गते बिहीबार

सिँचाइ सुविधापछि तीन बाली खेती

सिँचाइ सुविधापछि तीन बाली खेती


  • मेरोभ्यूज
  • चैत्र १९, २०८१ मंगलबार

  • सिँचाइ सुविधापछि तीन बाली खेती

    इलाम । इलाम नगरपालिका-१० भिरगाउँमा सिँचाइ योजना पुनःनिर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारी खेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुन:निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् ।

    साना सिँचाइ कार्यक्रमअन्तर्गत रु. ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुन:निर्माणपछि किसानले राहत पाएका हुन् ।

    स्थानीय अँधेरीखोलाबाट आठ सय ९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नं. १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

    आयोजना पुन:निर्माण सम्पन्न भइ पानी आउन थालेपछि भिरगाउँका किसान खुसी भएका छन् । पानी अभावमा खेत बाँझै राखेर बस्न विवश भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए ।

    स्वीडेन सरकारको रु. १२ लाख ५८ हजार, सङ्घीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको रु. आठ लाख ३८ हजारका दरले तथा स्थानीय उपभोक्ताको रु. चार लाख १९ हजारको साझेदारीमा उक्त आयोजना पुन:निर्माण गरिएको हो ।

    आयोजना पुन:निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको सो क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समितिका सचिव मनकुमारी समालले बताए ।

    “पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ”, सचिव समालले भने, “यसबाट किसानको आर्थिक अवस्थामा सुधार आउने विश्वास छ ।”

    स्थानीय उपभोक्ता भीमकुमारी मगर आयोजना पुन:निर्माणसँगै अकाशे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको बताए । अहिले भिरगाउँका किसान तीन बालीसम्म खेती गर्न थालेका छन् ।

    सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादन वृद्धि हुने उनले बताए । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष दस हजार तीन सय ४२ हेक्टरमा धानखेती गरिएकोमा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ । इलाममा रन्जित, राधा ४, चुल्ठेर अन्य स्थानीय जातको धानखेती गरिन्छ ।


    प्रकाशित : मंगलबार, चैत्र १९ २०८१०८:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार