२०८३, कार्तिक १२ गते बिहीबार

तरकारी खेतीबाट सात लाख आम्दानी

तरकारी खेतीबाट सात लाख आम्दानी


  • मेरोभ्यूज
  • चैत्र २०, २०८१ बुधबार

  • तरकारी खेतीबाट सात लाख आम्दानी

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएको छ ।

    दुई दशकदेखि तरकारी खेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएको छ । वर्षमा सार्कीले रु. सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएको छ । तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्चसमेत धानेको छ ।

    अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारी खेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गरेको छ । “तरकारी खेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ”, सार्कीले भने, “जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारी खेतीले धानिएको छ ।”

    तरकारी खेती नै कमाइ गर्ने एक मात्र माध्यम रहेको सार्की बताउछ । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारी खेती गर्थे । बगर खेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उनले बताए ।

    आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारी खेती गरेको विगत सम्झिँदै सार्की भन्छ, “पहिलो वर्षमै गतिलो आम्दानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ, बचेको रकम तरकारी खेतीमै लगाएर काम गर्दै गए”, उनले भने, “त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।”

    कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएको छ । तालिम लिएपछि तरकारी खेती गर्ने आधुनिक तौरतरिका सिकेर उनी निपुण भएको छ ।

    तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गरेको छ । प्लाष्टिकको टनेलमा उनले तरकारी उत्पादन गर्दै आएको छ ।

    दुई दशक भारतमा काम गरेका सार्की तरकारी खेतीबाटै भारतको भन्दा तेब्बर बढी कमाइ हुन थालेपछि स्वदेशमा काम गर्न थालेको बताउछ । कृषि कार्यमा गतिलो कमाइ हुने भएकाले भारतमा रहेका छोरालाई आफूसँगै सघाउन घर बोलाउने सोच सार्कीको छ ।

    बाह्रै महिना तरकारी खेती गर्दै आएको उनको बारीमा अहिले गोँलभेडा, बन्दा, बोडी, खुर्सानी, मुला, भाण्टा, हरियो मटर लटरम्म फलेको छ ।

    हरियो खुर्सानी मात्र एक महिनामा रु. वीस हजारको बेचेको सार्की बताउछ । उनको बारीमा गोँलभेडा मात्र रु. ५० हजार बढीको उत्पादन भएको छ । सार्की लौका, काँक्रा, तितेकरेला, फर्सीलगायत रोप्ने तयारीमा छन् ।

    श्रीमानश्रीमती दुवैले काम गर्न नसक्ने भएकाले तीन जना दैनिक ज्यालादारीमा कामदार राखेर काम गराउँदै आएको उनको भनाइ छ ।

    उत्पादित तरकारी भने स्थानीय बजारमा सहजरूपमा बिक्री हुने गरेको छ । बजार खोज्दै हिँड्नु नपरेको सार्की बताउछ । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उनले बढी जोड दिँदै आएको छ । भविष्यको योजना सुनाउँदै सार्कीले तरकारी खेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताए ।

    “अहिले वर्षमा रु. छ लाखदेखि रु. सात लाखसम्म आम्दानी हुँदै आएको छ”, उनले भने, “त्यसलाई बढाएर दोब्बर पार्ने योजना छ ।” अनुदानमा सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्न पावरटिलरको व्यवस्थाका लागि सार्की स्थानीय सरकारसँग माग गर्छ ।


    प्रकाशित : बुधबार, चैत्र २० २०८११०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार