२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने


  • मेरोभ्यूज
  • चैत्र २०, २०८१ बुधबार

  • व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

    सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१ निवासी बलराम न्यौपाने आजभोलि गाई गोठ र बाख्राको खोर स्याहार्नमा व्यस्त छन् ।

    बिहान सबेरै उठेदेखि राति अबेरसम्म गोठमा रहेका बाख्रा, गाईभैँसी स्याहार्नु, आहारको जोहो गर्नु र दूध बेच्नु उनको दैनिकी नै हो ।

    समाज परिवर्तनको लागि सुरु गरेको ३० वर्षे राजनीतिक यात्रालाई बिट मारेर वि.सं. २०८० पुसबाट उनले व्यावसायिक पशुपालन सुरु गरेको छ ।

    “विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेको हुँ । आठ वर्ष विद्यार्थी राजनीति गरे, वाइसिएल केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला नेता र पछिल्लो समय वैद्य माओवादीको जिल्ला सेक्रेटरी भए । अहिले राजनीतिकरूपमा निस्क्रिय छु । तीस वर्ष राजनीति गरियो तर समाज र आफ्नो अवस्थाजस्ताको तस्तै । हाल व्यावसायिक पशुपालनबाट समाजका केही व्यक्तिहरूलाई रोजगारी दिएको छु । राज्यलाई कर तिरेर योगदान पनि गरेको छु”, उनेले भने ।

    न्यौपानेले पूर्व-पश्चिम राजमार्गबाट सात किलोमिटर उत्तर चुरे पाखामा पशुपालन ‘फार्म हाउस’ सञ्चालन गरेको छ । सुरुमा पाँचवटा बाख्रा, एउटा गाई र एउटा भैँसीबाट सुरु गरेको फार्ममा हाल ७० वटा बाख्रा, आठ गाई र दुई वटा भैँसी छन् ।

    देशमा राजनीतिक क्रान्तिले ल्याएका परिवर्तनलाई स्थायित्व दिन पनि अब आर्थिक क्रान्ति आवश्यक रहेको निष्कर्षसहित आफू व्यवसायमा लागेको किसान न्यौपानेले सुनाए ।

    पशुपालनबाट आत्मसन्तुष्टिका साथै आम्दानी पनि सन्तोषजन भइरहेको उनको भनाइ छ ।

    गत गढीमाई मेलाको समयमा रु. १२ लाखभन्दा बढीका बोका बिक्री गरेको न्यौपानेले जानकारी दिए । “भवितव्यबाहेक कृषि र पशुपालनमा धेरै घाटा हुँदैन । पशु चौपायाको गहुँत र गोबरबाट पनि फाइदा लिन सकिन्छ”, उनले भने,“त्यसैले अब हरेक नेपालीले कृषिमार्फत् आर्थिक रूपान्तरणमा योगदान गर्नुपर्छ । यो भन्दा राम्रो विकल्प अर्को हुनसक्दैन । सरकारले पनि सोहीअनुसार नीति अवलम्बन गर्न आवश्यक छ ।”

    न्यौपानेले पशुपालनबाहेक केही जमिनमा उखु, टमाटर खेतीलगायत कृषि कर्मसमेत गरिरहेको छ । उनले पशुपालन र खेतीपातीबाटै पारिवारको गर्जो टार्दै आएको बताए । “अहिले व्यवसाय सुरु गरेपछि आम्दानीसँगै जीवनस्तरमा सुधार भएको छ । सन्तानको पठन-पाठनमा सहज भएको छ”, उनले भने । उनले गाईभैँसीको करिब ५० लिटर दूध दैनिकजसो बिक्री गरिरहेको छ ।

    राजनीति समाज सेवा भएकाले आर्थिक उपार्जनका लागि हरेक नेताले कुनै न कुनै इलम गर्न जरुरी रहेको पनि उनको भनाइ छ । न्यौपानेले हाल तीन जनालाई रोजगारी दिएको छ ।

    अब व्यवसाय विस्तार गरी चुरेको हावापानी सुहाउँदो कुखुरापालन गर्ने योजना रहेको उनले सुनाए । साथै पशुपालनबाट दूध, मासुसँगै मलमूत्रबाट बन्ने मल प्रयोग गरेर व्यावसायिक खेतीमा लाग्ने उनले बताए ।

    न्यौपानेले चार बिघा पाखामा डाले घाँस रोपेको छ । व्यवसाय सुरु गर्दा उनले भौतिक संरचना निर्माण र केही पशुवस्तु खरिद गर्दा रु. ८२ लाख ९० हजार लगानी गरेका थिए । हाल सो लगानी रु. एक करोड २५ लाख पुगेको छ ।


    प्रकाशित : बुधबार, चैत्र २० २०८१११:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार