२०८३, कार्तिक १२ गते बिहीबार

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष


  • मेरोभ्यूज
  • चैत्र २३, २०८१ शनिबार

  • किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

    जिल्लामा रुद्राश्रबाट रु. १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्धार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए ।

    एकाइस मुखे मुखद्धार एउटा दाना रु. २० लाखदेखि ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । मुखद्धार बाहेकका दानाको भने मूल्य कम रहेको उनले बताए ।

    “मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ” सचिव कटुवालले भने,“मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना रु. २० देखि ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रिन्छ ।”

    आठदेखि २९ मुखसम्म भएको दानालाई मुखद्धार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ । सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे मुखद्धार दाना आकारको आधारमा एक हजार पाँच सयदेखि पाँच हजारसम्म बिक्री हुने गरेको छ ।

    त्यस्तै १३ मुखे रु. पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारको आधारमा रु. दश हजारदेखि ५० हजारसम्म, १६ मुखे रु. ५० हजार एक लाखसम्म, १७ मुखे रु. ७० हजारदेखि दुई लाखसम्म, १८ मुखे रु. ढेड लाखदेखि चारलाखसम्म र २१ मुखेलाई रु. २० लाख ६० लाखसम्म पर्दछ ।

    विगतमा बिक्री हुने पाँच र छ मुखे दानाको भने बजारमा माग नरहेको उनले जानकारी दिए । दाना राम्रो बनाउने बहानामा किसानले औषधिको प्रयोग गर्ने गरेकाले रुख मर्ने समस्या देखिएको उनको भनाइ छ ।

    विगतमा प्राकृतिकरुपमा (औषधि प्रयोग नगरी) उत्पादन भएका रुद्राक्षका बोटमा कमै मात्र भए पनि गुणस्तरिय मुखद्धार दाना फल्ने भएकाले राम्रो मूल्यमा बिक्री हुने गरेको थियो । औषधिको प्रयोगले उत्पादनमा वृद्धि भए पनि मूल्यमा भने कमि आएको उनको भनाइ छ ।

    उत्पादन भएको रुद्राक्षको बजारीकरणमा समस्या रहेको षडानन्द नगरपालिका दिङ्लाका स्थानीय रुद्राक्ष व्यवसायी सुजन राईले बताए । रुद्राक्षलाई वन पैदावरको रुपमा राखिएकोले बिक्री वितरणमा समस्या रहेको छ ।

    रुद्राक्षलाई राज्यले नगदेबालीको रुपमा राखिदिए थप सहजता हुने उनले बताए । दिङ्ला क्षेत्रमा दुई हजार बढी किसानले व्यवसायीरुपमा रुद्राक्षको खेती गरेको राईले बताए ।

    “यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो” उनले भने,“हाम्रो दिङ्ला क्षेत्रमा मात्र दुई हजार बढी किसानले व्यावसायिकरुपमा यसको खेती गरिरहेका छन् । रुद्राक्षलाई वन पैदावरको रुपमा राखिँदा बजारीकरणमा समस्या छ ।”

    षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानी, साल्पासिलिछो गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानले यसको सुरक्षासमेत गर्दै आएका छन् ।

    भोजपुरबाट यो वर्षको माघ महिनासम्म करिब ७० हजार केजी रुद्राक्ष निर्यात भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत विजय यादवले जानकारी दिए ।

    जिल्लामा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको मुख्य बजार सङ्खुवासभाको खाँदबारी रहेको छ । खाँदबारीबाट तराईका जिल्ला, काठमाडौँ हुँदै चीन र भारतमासमेत निर्यात हुने रुद्राक्ष व्यवसायीको भनाइ छ । यस्तै युरोप र अमेरिकालगायतका मुलुकमासमेत रुद्राक्ष निर्यात हुने गरेको छ ।

    भोजपुरमा रुद्राक्षको इतिहास हेर्दा वि.सं. १९३२ भन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ छ । रुद्राक्ष समुन्द्री सतहदेखि एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने विज्ञहरुको भनाइ छ ।


    प्रकाशित : शनिबार, चैत्र २३ २०८१०९:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार