२०८३, कार्तिक ११ गते बुधबार

बृहत् घोप्टेखोला खानेपानी आयोजना

बृहत् घोप्टेखोला खानेपानी आयोजना


  • मेरोभ्यूज
  • चैत्र २४, २०८१ आइतबार

  • बृहत् घोप्टेखोला खानेपानी आयोजना

    म्याग्दी । जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण सुरू भएको छ ।

    सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् ।

    रू. ३५ करोड ६३ लाख ३९ हजार सात सय २७ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत असारमा रू. २८ करोड ५० लाख १२ हजार सात सय ५५ मा जिएटिआरसी–प्यागोडा–सासा जेभीले ठेक्का सम्झौता गरेको थियो ।

    आयोजना प्रमुख इन्जिनियर सुमन थापाले ठेकेदार कम्पनीले रघुगङ्गा गाउँपालिका–६ करेन्टखोलामा मुहान, मुख्य पाइप लाइन र पानी प्रशोधन केन्द्रको संरचना निर्माण सुरू गरेको जानकारी दिए ।

    ठाडाखानीमा यसै आर्थिक वर्ष भित्रमा योजनामार्फत खानेपानी वितरण गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए ।

    “यस वर्ष विनियोजन भएको रू. तीन करोडभन्दा बढीको काम भइसकेको छ”, आयोजना प्रमुख थापाले भने, “वि.सं. २०८१ असार २४ गते सम्झौता भएको योजना २०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ ।”

    सङ्घीय सरकारको खानेपानी मन्त्रालयको केन्द्रीय खानेपानी कार्यक्रममा वि.सं. २०७३ देखि समावेश भएको यो योजनालाई तत्कालीन जिविसको जिल्ला परिषद् र सङ्घीयता कार्यान्वयनपछि जिल्ला सभाले म्याग्दीको गौरवको आयोजनाको सूचीमा समावेश गरेको छ ।

    बेनी नगरपालिका–५, ६, ९, १० नम्बर वडा, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं. ५ झीँलाई लक्षित गरी वि.सं. २०७३ मा परिकल्पना गरिएको बृहत् घोप्टेखोला खानेपानी योजना निर्माण गर्न पछिल्लो पटक सन् २०२२ मा सर्वेक्षण भएको थियो ।

    योजनामार्फत १६ हजार एक सय ८६ जनसङ्ख्या लाभान्वित हुने आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए ।

    रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ ।

    मुहान, ७६ दशमलव २९ किलोमिटर मुख्य र ८६ दशमलव २४ किलोमिटर वितरण पाइप लाइन, पानी प्रशोधन प्लान्टलगायत संरचना ठेक्कामार्फत निर्माण गर्न लागिएको हो । रू. ४८ करोड १६ लाख ५० हजार लागत अनुमान गरिएको आयोजनाको १० प्रतिशत सहभागिता उपभोक्ताको रहने छ ।

    उपभोक्ताले गर्नुपर्ने वितरण लाइन खन्ने र पुर्ने कामका लागि बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाले स्रोत सुनिश्चतता गरेका छन् ।

    म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले करिब एक दशकको प्रयासमा घोप्टेखोला खानेपानी योजना कार्यान्वयनमा आएको जानकारी दिए ।

    “रू ४८ करोड लागत अनुमान गरिएको योजनालाई खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि डिपिआर स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नुहँदा कार्यान्वयन हुनसकेको थिएन”, उनले भने, “२०८० फागुनमा अर्थ मन्त्रालयले रू. ३७ करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन सुरू भएको हो ।”


    प्रकाशित : आइतबार, चैत्र २४ २०८१११:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार