२०८३, कार्तिक १२ गते बिहीबार

कावाखोलामा पक्की पुल

कावाखोलामा पक्की पुल


  • मेरोभ्यूज
  • चैत्र २६, २०८१ मंगलबार

  • कावाखोलामा पक्की पुल

    भोजपुर । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

    हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ ।

    स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव वीस मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ । पुल भ्याटसहित रु. चार करोड ६२ लाख ७४ हजार नौ सय दसको लागतमा निर्माण भएको हो ।

    कावाखोलामा पुल निर्माणले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पुल सञ्चालनमा आएपछि सवारीसाधन आवत-जावतमा सहजतासँगै उत्पादित कृषि उपजको बजारीकरणमा टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।

    “धेरै पहल र प्रयत्नपश्चात कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ”, अध्यक्ष राईले भने, “यो खोला पुल नुहँदा दक्षिणी क्षेत्रको जनजीवन निकै कष्टकर थियो । अब भने सदरमुकामसम्मको आवत-जावतका लागि सहज अवस्था बनेको छ ।”

    कावाखोलामा पुल निर्माणले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्थाबाट दक्षिणी क्षेत्रका नागरिक मुक्त भएको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताए । वर्षातको समयमा खोलामा पुल नहुँदा बिरामी तथा स्थानीयलाई धेरै सास्ती हुने गरेको भए पनि अब भने दैनिकी सहज बनेको उनको भनाइ छ ।

    “करिब पाँच वर्षको पर्खाइपछि कावाखोलामा पुल निर्माण भएर सञ्चालन आएको छ”, वडाध्यक्ष थापाले भने, “यहाँ पुल नहुँदा नागरिकले भोगेका दुःखको वयान गरिसाध्य छैन । वर्षातको समयमा मानिस वारिका वारि, पारिका पारि हुने अवस्था थियो । पुल निर्माणले स्थानीयमा उत्साह बढेको छ ।”

    यो खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा वि.सं. २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको पुल ढलान गरेपछि वि.सं. २०७८ मङ्सिरमा भाँचिएका थियो । निर्माणका क्रममा पुल भाँचिएपछि यहाँ पुनः पुल निर्माण भएको हो ।


    प्रकाशित : मंगलबार, चैत्र २६ २०८१०८:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार