काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको आयोजनामा यही चैत २९ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने भएको छ ।
चैत पूर्णिमाको अघिल्लो दिन मनाइने सो जात्रामा श्रद्धालु भक्तजनले रातभरि नै जाग्राम बसेर आफ्ना पितृको स्मरणमा बत्ती बालेर गुरुद्वारा पूजापाठ गर्ने आयोजक संस्थाका अध्यक्ष जनमङ्गल लामाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
यो जात्रामा विशेषगरी काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका तामाङलगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायको उपस्थिति रहनेछ । तेमाल जात्रा मनाउन भारत, भूटान र बर्माबाट समेत भक्तजन आउने आयोजक समितिले जनाएको छ ।
मृतकको आत्माको चिरशान्तिको कामनासहित परापूर्वकालदेखि नै बौद्ध तेमाल जात्रा मनाउन थालिएको अध्यक्ष लामाले जानकारी दिए । वि.सं. १८१९ मा तेमालका अन्तिम तामाङ राजा रिन्जिल दोर्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तेमाल जात्रा सम्पन्न गर्न आफ्ना जनतालाई पठाउने गरेको जनश्रुति रहेको उनको भनाइ छ ।
मेलामा नेपाल र विदेशबाट करिब ६० हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । तेमाल जात्रा तामाङ समुदायका विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको प्रमुख पर्व भएको अध्यक्ष लामाले जानकारी दिए ।
काभ्रेको तेमाल क्षेत्रका तामाङ आफ्ना दिवङ्गत आत्मको चिरशान्तिका निम्ति बौद्ध महाचैत्यमा आइ विशेष पूजाआजा गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको जानकारी दिएका छन् ।

