२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक माहुरीपालन

व्यावसायिक माहुरीपालन


  • मेरोभ्यूज
  • चैत्र २७, २०८१ बुधबार

  • व्यावसायिक माहुरीपालन

    मन्थली । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ ।

    मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् ।

    कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाँउमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ ।

    विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई/तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् ।

    लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किएका रामेछाप नगरपालिका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गरेका छन् ।

    अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यसप्रति सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले मह प्रति किलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ ।

    एक सिजनमा एउटा घारबाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ ।

    मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई/तीन वर्षमै माहुरीपालन विस्तार गरी वीस घार बनाएको छ । उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेको छ ।

    सुरुमा माहुरीपालन सम्बन्धी कुनै ज्ञान नभएपनि छोटो अवधिको तालिम लिएर सुरु गरेकोले अहिले राम्रै आम्दानी गरेको उनले बताए ।

    उनले भने, “विषेशगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो-चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फुलवारी र तोरीवारी हो ।”

    माहुरीपालन गर्ने कृषकले मह मात्र नभइ माहुरीसहितको घारसमेत बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु. दस हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् ।

    मन्थलीमा सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिम पश्चात सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाँउ-घरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए ।

    उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएको छ ।

    खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि ब्यावसायिक माहुरीपालन गरेका छन् । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गरेका छन् । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ ।

    महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि विगतदेखि अनुदानस्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिए ।


    प्रकाशित : बुधबार, चैत्र २७ २०८१११:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार