२०८३, कार्तिक १२ गते बिहीबार

उद्यान बनाउन टहरा हटाइँदै

उद्यान बनाउन टहरा हटाइँदै


  • मेरोभ्यूज
  • चैत्र २७, २०८१ बुधबार

  • उद्यान बनाउन टहरा हटाइँदै

    ललितपुर । ललितपुर महानगरपालिका–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको छ । न्हुँ:पुखुको पूर्वपट्टि सार्वजनिक जग्गामा बनेका टहरा महानगरपालिकाले हटाउन थालेको हो ।

    टहरा भत्काएर हरियाली उद्यान बनाउन लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

    “हामीले हरियाली प्रवर्द्धन र पोखरी संरक्षणलाई जोड दिँदै आएका छौँ, सहरभित्र खुला स्थानको अभाव हुँदै गएको छ, ललितपुरको मुख्य केन्द्र लगनखेलमा रहेका सप्तपाताल पुखु, न्हूँ:पुखु र पलेस्वाँ पुखुलाई संरक्षण गर्दै वरिपरिको सुन्दर वातावरण कायम राख्न उद्यानबाट मद्दत पुग्नेछ,” उनले भने ।

    नमूना मच्छिन्द्र माध्यमिक विद्यालयसँगै १४ रोपनी दस आनामा रहेको सप्तपाताल पोखरी र राजदल गणसँगैको ३० रोपनीमा पलेस्वाँ पोखरी पुनःनिर्माणको चरणमा छ ।

    टहरा भत्काइएको पश्चिमतर्फ न्हुँ:पोखरी छ । यी तीन पोखरी र यहाँ बनाउन लागिएको उद्यानलाई गौरवको ठूलो परियोजनाका रुपमा बजेट विनियोजन गरेर महानगरले काम अगाडि बढाउँदै गएको छ ।

    टिकाभैरव राजकुलोको पानी ल्याएर पोखरी पुनर्भरण गर्ने योजनाअनुरुप काम भइरहेको महानगर प्रमुख महर्जनले बताए । “ढोलाहिटीसम्म आइपुगेको राजकुलो पोखरीमा ल्याउन चक्रपथ सडक खन्नुपर्छ । चक्रपथ सडक खन्न सडक विभागले अनुमति दिइसकेको छ,” उनले जानकारी दिए ।

    लगनखेलस्थित नमूना मच्छिन्द्र स्कूलले पोखरीको जग्गा लामो समयदेखि प्रयोग गर्दै आएको थियो । वि.सं. २०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा निर्णय गरेपछि पोखरी निर्माणको काम अघि बढाउन सहज भएको थियो ।

    लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्च अदालतको फैसलासँगै सप्तपाताल पोखरी पुन:निर्माणको काम सुरु भएको थियो ।

    महानगरका इन्जिनियर प्रदीप पौडेलले डेढ वर्षभित्र पोखरीसहितको उद्यान निर्माण सम्पन्न हुने बताए । “पोखरी खन्ने र पोखरीको माटो परीक्षण गर्ने काम सकिएको छ, पोखरीसँगै बाल उद्यान, फल्चा बनाउने गरी डिजाइन गरेका छौँ”, उनले भने ।


    प्रकाशित : बुधबार, चैत्र २७ २०८१११:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार