२०८३, कार्तिक १२ गते बिहीबार

समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर


  • मेरोभ्यूज
  • चैत्र २८, २०८१ बिहीबार

  • समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

    बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ ।

    त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ । करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् ।

    ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । नवलपुरको गैंडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको करिडोर बागलुङ खण्डमा मात्रै ३४ किमि पर्दछ ।

    करिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रका बासिन्दाको दैनिकीमा परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

    बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन् भने करिडोर स्तरोन्नतिसँगै कालोपत्र हुँदै गएपछि सवारीसाधन सञ्चालन हुने थालेका छन् ।

    ग्रामीण क्षेत्रका नागरिकलाई बुटवल, भैरवाहलगायत मुलुकका ठूला सहरसम्म पुग्न सहज भएको छ । करिडोरमा यातायाता सञ्चालन हुन थालेपछि गाउँमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्न सहज भएको स्थानीय किसान श्रीसले बताए ।

    करिडोरको ट्र्याक वर्षौं अगाडि खुलेपछि अहिले स्तरोन्नति भएको भन्दै यसले गाउँलाई सिधा सहरसँग जोडेको उनको भनाइ छ ।

    किसान श्रीसले भने, “कालीगण्डकी करिडोरले हाम्रो गाउँलाई सुगम बनायो, दिनानुदिन गाडी ओहोर-दोहोर गर्छन्, यात्रुले यहाँ उत्पादन भएका सामान किनेर लैजान्छन्, पहिले बुटवल, भैरहवा पुग्न एक दिन लाग्थ्यो भने अहिले चार/पाँच घण्टामा पुग्न सकिन्छ, बुढापाकाहरू अहिलेको यो विकास देखेर दङ्ग छन्, करिडोरले यो क्षेत्रका नागरिकको जीवनशैली बदल्न थालेको छ ।”

    जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले करिडोर सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्न थालेका बताए ।

    भारतबाट मुक्तिनाथ जाने धेरैजसो पर्यटक जैमिनी धामको दर्शन गरेर जाने गरेको भन्दै यसले आर्थिक चलायमान हुने उनको भनाइ छ ।

    स्थानीय सरकारले पर्यटकीय तथा धार्मिकस्थलको प्रचार-प्रसार गर्नसके बाह्य पर्यटकलाई तान्न सकिने थापाले धारणा राखे । अहिले दैनिक बुटवलबाट जैमिनीसम्म सिधा यातायात सञ्चालन हुँदा सामान ढुवानी र यात्रा गर्न सहज भएको उनले उल्लेख गरे ।

    जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले दक्षिण बागलुङ समृद्धिसँग जोड्न कालीगण्डकी करिडोरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अब बागलुङका हरेक नागरिक व्यापार र व्यवसायसँग जोडिए करिडोरबाट प्रशस्त लाभ लिनुका साथै आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ ।

    किसानले उत्पादन गरेको तरकारी, फलफूल र अन्य वस्तु सहजै विभिन्न सहरमा पुर्याउन सकिने हुँदा उचित मूल्यसमेत पाइने शर्माले बताए ।

    “करिडोर बागलुङवासीका लागि वरदान सावित हुँदै गएको छ, हिजो सुनसान रहेको ठाउँमा अहिले धमाधम बजार बस्न थालेका छन् । एक दिन यात्रा गर्नुपर्ने ठाउँमा अहिले दुई/चार घण्टामा पुग्न सकिन्छ”, उनले भने, “यो रुट धार्मिक पर्यटनसँग जोडिएको हुँदा यहाँ थुप्रै सम्भावना छन्, नगरपालिकाले पनि करिडोरबाट लाभ लिनेगरी योजना बनाइ रहेको छ ।”

    करिडोरले जैमिनी नगरपालिकामा १९ दशमलव पाँच किलोमिटर र बागलुङ नगरपालिकामा १४ दशमलव पाँच किमि क्षेत्र जोडेको छ । नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किमि रहेको करिडोर बागलुङको मालढुङ्गा दुई सय ४० किमि लामो छ ।

    मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रासमेत यसले छोट्याइदिएको छ । करिब १४ वर्ष अगाडि निर्माण सुरु भएको करिडोर आयोजना हालसम्म बागलुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।


    प्रकाशित : बिहीबार , चैत्र २८ २०८१११:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार