बागलुङ । जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गरेको छ ।
वि.सं. २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लगेका उनले अहिले बागलुङका सफल किसानका रुपमा परिचित हुन् ।
उनले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लास्टिक टनेल र टनेलबाहिर सिजन अनुसारका तरकारी उत्पादन गर्दै आएको छ ।
पदम खत्रीले एग्रो फार्ममा मौसमी र बेमौसमी टमाटर, काउली, बन्दा, साग, सिमी र घिरौँलालगायत तरकारी फलाउँदै आएको छ ।
उनले गत वर्ष एउटै काउली नौ किलोको र यस वर्ष १२ किलो सम्मको फलाउनु भएको थियो । उनी कृषि ज्ञान केन्द्रबाट पटक–पटक उत्कृष्ट किसानका रुपमा सम्मानित हुँदै आएको छ ।
“निरन्तर मेहनत गरे सफलता पाइँदोरहेछ, अहिलेको सिजनमा मात्रै छ लाखको काउली बजार पठाएँ, वर्षमा पाँच/छ लाखको त टमाटर नै बिक्री हुन्छ,” खत्रीले भने, “आठवटा प्लास्टिक टनेल र खन्य खुल्ला रुपमा तरकारी उत्पादन हुँदै आएको छ, यस वर्ष काउलीको मूल्य राम्रो भएकाले धेरै नाफा भयो ।”
वि.सं. २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारी खेती थालेका खत्री यस क्षेत्रकै सफल किसानका रुपमा परिचित हुन् ।
स्वदेशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लागेका खत्रीले वार्षिक रु. १२ देखि १४ लाख आम्दानी गर्दै आएको छ । “अहिले काउली र ब्रोकाउली मात्रै दस क्विन्टल बिक्री गरेको थिएँ, छ लाख आम्दानी त एक सिजनको काउलीबाटै भयो, अहिले काउलीको बजार मूल्य रु. एक सयसम्म परेकाले राम्रो आम्दानी भयो,” उनले भने । तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा लिएर १८ रोपनी जग्गा पुर्याएको छ ।

