काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले ओली निवास बालकोटमै गएर उनलाई भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले संसद्को गत्यावरोध हटाउन आग्रह गरेका थिए ।
भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् । प्रधानमन्त्रीमा रहँदा दुई–दुई पटक संसद् विघटन गरेका ओलीले पुनःस्थापित संसद् बैठकमा नियमित अवरोध गरिरहेका छन् ।
संसद् बैठक नियमति गर्न तथा मुलुकका समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्दै आएको छ । सभामुखले बोलाएको बैठकमा पनि एमाले उपस्थित भएको छैन ।
सत्ता गठबन्धनमा सहभागी पाँच दलको शुक्रबारको बैठकले ओलीसँग संवादको पहल गर्न देउवालाई आग्रह गरेको थियो । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले सर्वदलीय बैठक लगातार बहिस्कार गरिरहेको भन्दै आफूले प्रधानमन्त्रीलाई बालकोट गएर ओलीसँग संवाद गर्न सुझाव दिएको बताएका थिए ।

